२ जेष्ठ २०८१, बुधबार
Follow Us

स्थानीयको श्रमदानबाट पदमार्ग निर्माण

sarusaru
१८ आश्विन २०७५, बिहीबार ०४:२३

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन्।

हिलापोखरी टोल सुधार समितिको सक्रियतामा उनीहरूले धौलागिरि चक्रीय पदमार्गअन्तर्गत ७ नं वडामा पर्ने ताकमदेखि हिलापोखरी र खोरवाङ हुँदै ४ नं वडाको खारा जोड्ने गरी पदमार्ग निर्माण गरेका हुन्।

उनासी घरधुरीले तीन दिनसम्म श्रमदान गरेर पाँच किलोमिटरभन्दा बढी पदमार्ग निर्माण गरेको समितिका अध्यक्ष रामजी मल्लले जानकारी दिए। धवलागिरि चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटक र स्थानीयबासीको सुविधाका लागि पदमार्ग निर्माण गरिएको उनको भनाइ थियो।

स्थानीयवासीले घाँसदाउरा र खेतीबाली लगाउन आवतजावत गर्ने परम्परागत घोडेटो बाटोलाई फराकिलो बनाउने, झाडी फाँडेर सरसफाइ गर्ने, पहिरो पन्छाउने, सिँढी बनाउने गरिएको छ। यसबाट खिवाङ, हिलापोखरी, मुदी, बगर, खारा, खाम्ला, बाँसबोट, चुचुङ, नाउराका बासिन्दालाई सुविधा पुगेको छ।

यो पदमार्ग धौलागिरि चक्रीय पदमार्गको ताकम, मुना, मुदी र बिम कल्लेनी बाँसबोट खण्डको विकल्प भएको हिलापोखरीका याम पुनले बताए। अन्य दुईभन्दा यो नयाँ पदमार्ग छोटो छ। पर्यटकको चार समूह यही पदमार्ग भएर धवलागिरि आधार शिविरतर्फ गएका टोल सुधार समितिका अध्यक्ष मल्लले बताए।
रासस