२ श्रावण २०८२, शुक्रबार
Follow Us

२९ वडा सचिवबिहीन

nepalbritain news
७ कार्तिक २०७५, बुधबार ०६:१४

हुम्ला । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन्।

सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवबिहीन भएका हुन् ।

आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ वडाको जिम्मेवारी लिएका वडासचिव धर्मराज रोकायाले बताए।

मन्त्रालयबाट सचिवको व्यवस्था नहुँदा काम गर्न निकै कठिन भइरहेको उनको गुनासो थियो । यसरी सचिव नभएका वडामा कतिपयमा करारका कर्मचारीले र कतिमा त वडाध्यक्षबाटै कार्य सम्पादन भइरहेको सचिव रोकायाले बताए। ठूलो नाम्खा गाउँपालिकाको ८ वटा वडामा तीन मात्र सचिव कार्यरत रहेको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए।

गाउँपालिका केन्द्र पुग्न तीन दिनसम्म पैदलयात्रा लाग्ने उक्त गाउँपालिकामा सचिव अभावले गर्दा काम गर्न गाह्रो भएको छ।

त्यस्तै खार्पुनाथ गाउँपालिकामा पाँच वटा वडामध्ये एक वडामा मात्र सचिव भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए। सचिव अभावले हालसम्म प्रथम चौमासिक सामाजिक सुरुक्षा भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो। गाउँ पालिकाको अन्य दैनिक प्रशासनिक काम पनि सचिव अभावले प्रभावित भएको अधिकृत शाहीले उल्लेख गरे। आठ वटा वडा भएको सर्केगाड गाउँपालिकामा पनि हाल चार जना मात्र सचिव कार्यरत रहेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेश पाण्डेले बताए। त्यस्तै चङ्खेली गाउँपालिकामा छ वडामध्ये दुई मात्र सचिव कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत धु्रव फुँयालको भनाइ थियो।

जिल्लाको दक्षिण क्षेत्रको अदानचुली गाउँपालिकाका छ वडामध्ये दुई वडामा मात्र सचिव छन् । सचिवका लागि पटक–पटक मन्त्रालयसँग समन्वय गर्दा केही नलागेको र हाल ती भएका दुई सचिवबाट जेनतेन काम चलाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए। दक्षिण क्षेत्रमा पर्ने अर्को ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार ५ वडामध्ये दुई वडामा मात्र सचिव छन् । जिल्लाका ४४ वडामध्ये २९ वडा कार्यलय सचिवबिहीन हुँदा नागरिकता, जन्म, मृत्यु दर्ता, चौमासिक वृद्धाभत्ता वितरणमा समस्या भएको छ।
रासस

धेरै पढिएको