३२ असार २०८२, बुधबार
Follow Us

मदिरा नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता

nepalbritain news
१३ कार्तिक २०७५, मंगलवार ०२:२९

दुल्लु । दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका राजनीतिक दलहरूले गाउँमा मदिरा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मदिरा सेवन र बेचविखन तथा जुवातास नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता गरिएको हो।

नगरपालिकाकाले गत असार ३१ गते नगरसभाबाट मदिरा नियन्त्रण कार्यविधि पास गरी मातहतका सबै वडामा मदिरा नियन्त्रणसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेको थियो। गाउँगाउँमा भेला र बैठकको माध्यमबाट मदिरा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै नगरलाई मदिरा र जुवातास नियन्त्रण क्षेत्र बनाउनेतर्फ अघि बढ्ने नगर प्रमुख शाहीले बताए।

तत्काल नगरपालिकाका सबै वडामा मदिरा र जुवातास नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने उनको भनाइ छ। “अभियानलाई शुरुमै निषेधित रूपमा नभई नियन्त्रित अभियानका रूपमा अघि बढाउनेछौँ”, नगर प्रमुख शाहीले भने, “अभियानलाई शुरुमा नै निषेधित रूपमा अघि बढाउँदा सफलता पाउन नसकिने देखिएकाले नियन्त्रित अभियानका रूपमा घोषणा गरेर बिस्तारै निषेधित क्षेत्रका रूपमा अघि बढाउनेछौँ।”
रासस

धेरै पढिएको