१६ बैशाख २०८१, आईतवार
Follow Us

देउवालाई रोक्न, सुजाता निवासमा लन्च मिटिङ

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०७५, बुधबार ०६:०१

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन बाहेकको समूहले पार्टी सभापति शेरबहादुर देउवा पार्टीभित्र अधिनायकवादी चरित्र देखाएर स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै गुटगत भेलालाई तिब्रता दिएको छ । आगामी महाधिवेशनबाट सभापति देउवालाई कुनै पनि हालतमा रोक्ने भन्दै तयारी गरिरहेका उनीहरु हिजो मंगलबार बिहान मण्डिखाटारस्थित नेतृ सुजाता कोइरालाको निवासमा भेला भएका थिए ।

उक्त समूहले आसन्न केन्द्रीय कार्यसमिति र महासमितिको बैठकमा एकै आवाज बनाउने तयारी गरेको छ । सुजाता निवासमा भएको ‘लन्च मिटिङ’मा नेताहरुले पार्टी संस्थापन पक्षको विरोध गरेका थिए । विधानमा फरक मत राखेको संस्थापन बाहेकका समूहले १३ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा राख्ने समान धारणाबारे तयारी शुरु गरेको हो । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल नजिकका नेताहरुको बैठक भए पनि यसपटक कोइराला निवासमा तेस्रो धारका नेताहरु पनि सहभागी थिए ।

बैठकमा कृष्णप्रसाद सिटौला धेरै समय बोलेनन् । उनले विधानका बारेमा केन्द्रीय समितिमा आएका सबै विचार सुनेर सामूहिक धारणा बनाउनुपर्ने बताए । नेता गगन थापा र प्रदीप पौडेलले पार्टी सञ्चालन पद्दति र विधानका विषयमा बोलेका थिए । थापाले एकातिर दुई तिहाइको दम्भ र अर्कोतिर पार्टीमा देउवाको बहुमतले समस्या उत्पन्न भएको आरोप लगाए । जनता सरकारसँग निरुत्साहित भएको बताउँदै उनले कांग्रेसको नेतृत्वसँग थप वितृष्णा जागेको बताए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का प्रभावशाली नेता डा. शेखर कोइराला उपस्थित थिएनन् । नेता पौडेल र कोइराला उपत्यका बाहिर भएकाले बैठकमा उपस्थित हुन नसकेको स्रोतको भनाइ छ । बैठकमा कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, सुजाता कोइराला, बलबहादुर केसी, चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, जीवन परियार र कमला पन्त उपस्थित रहेको स्रोतले जनाएको छ ।