२१ बैशाख २०८१, शुक्रबार
Follow Us

स्पेन दूताबास परराष्ट्रलाई निल्नु न ओकल्नु, राजदूत रायमाझी बिबादमा

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७५, बिहीबार ००:२३

लण्डन। स्पेनबासी नेपालीहरुको मागलाई सम्बोधन गर्दै नेपाल सरकारले म्याड्रिडमा नेपाली राजदूताबास खोल्यो तर अहिले परराष्ट्र मन्त्रालयलाई निल्नु न ओकल्नु बनेको छ। झन्डै ६ करोड बार्षिक खर्च हुने उक्त दूताबासमा राजदूत सहित कर्मचारी त आए तर अहिलेसम्म सिन्को भाँच्न सकेको छैनन्। कामको सट्टा उल्टो राजदूत भरत बहादुर रायमाझी आर्थिक अनियमिताको बिबादमा मुछिएका छन्। परराष्ट्र स्रोतका अनुसार नोभेम्बर पहिलो साता दूताबासमा एक अनुगमन टोली आएर फर्किसकेको छ।

राजदूत रायमाझीलाई सार्वजनिक खरिद प्रक्रिया लत्याउँदै दूतावासलाई आवश्यक पर्ने सामग्री खरिद गरेको आरोप लागेको छ। यस्तै सवारी खरिद प्रक्रिया नपुर्याई झन्डै १ करोड रुपैयाँ खर्च भएका ३ बटा गाडीहरु दूतावासमै थन्किएका छन्।

‘भिजिटिङ कार्ड’ र कार्यालयको ढोकामा राखिने ‘नेम प्लेट’ बनाउने खर्चसमेत पारदर्शी ढंगमा नभएको आरोप लागेको छ। स्रोतका अनुसार म्याड्रिडस्थित दूतावासले त्यहाँ बंगाली र पाकिस्तानी नागरिकका पसलबाट सामग्री खरिद गर्दै आएको छ तिनै हस्तलिखित बिलहरु परराष्ट्रमा पेश गरिएको बताईन्छ।

अर्को तर्फ राजदूताबास कार्यालय अस्तब्यस्त देखिन्छ। त्यही राजदूत निवास त्यही कार्यलय। भान्छामा पाकेको खानाको गन्ध आगन्तुक कक्षमा पुग्ने मात्र हैन भान्छा सम्पूर्ण गतिबिधि सुनिने हुँदा कार्यालयको वातावरण प्रत्यक्ष प्रभावित बनेको गुनासो सुनिन्छ ,राजदूत आएको बर्षदिन बिति सक्दा पनि अझै दूताबास व्यबस्थित बन्न सकेको छैन। बालमैत्री र अपांगमैत्री समेत नरहेको दूताबासमा हिव्लचियर छिराउन मिल्दैन।

म्याड्रिड स्थित राजदूताबास

राजदूत रायमाझीले पासपोर्ट बिभागको निर्देशन भन्दै राहदानी आबेदन दिन र राहदानी बुझ्न समेत स्वयं ब्यक्ति नै दूताबासमा उपस्थित हुनुपर्ने अडान लिए। सहज रुपमा पोष्टल सर्भिस सुरु गर्न नसक्दा केहि समय स्पेनबासी नेपालीहरु नै अन्योलमा परेका थिए। यस बारेको समाचार मिडियामा प्रकाशित भएपछि पासपोर्ट बिभागले दूताबासमा पोष्टल सर्भिस सुरु गर्न निर्देशन जारी गरेको थियो।

नेपाली सेनाका पूर्व जर्नेल समेत रहेका रायमाझी तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजदूत सिफारिस भएका हुन्। दूताबासमा प्रथम सचिव हरिहरकान्त अर्याल,तृतीय सचिव भोजराज भट्टराई कार्यरत छन्। राजदूतसँग कर्मचारीको राम्रो छलफल तथा परामर्श हुन नसकेको बताईन्छ।

एकातर्फ राजदूतको कुटनीतिक असक्षमता,अर्कोतर्फ राजदूत हटाउने जोखानामा कमर्चारीले रहेको हुँदा पनि म्याड्रिड स्थित नेपाली दूताबास धरापमा परेको छ।