१४ असार २०८१, बिहीबार
Follow Us

फुटबलको नाममा बेलायत छिर्न खोज्ने १५ पदाधिकारी फिर्ता

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०८१, बुधबार ०५:३६

काठमाडौं । बेलायतमा हुने दुई मैत्रिपूर्ण खेलमा अफिसियल बनेर जान खोज्नेहरुलाई युवा तथा खेलकुद मन्त्रालयले हस्तक्षेप गरेको छ । ती अफिसियल को को हुन् भनेर नाम खुलाइएको छैन । यद्यपि मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका महासचिव किशोर राईलाई बोलाएर स्पष्टिकरण सोधेका छन् ।

मन्त्री श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भीसा नआएको विषयमा सदस्य सचिव घिसिङ र महासचिव राईलाई स्पष्टिकरण सोधेका थिए ।

भीसा ढिलाईको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले बुधबार बिहान २ बजेसम्म भीसा आउने बताए । भीसा लिनकै लागि भारतको दिल्ली पठाएको पनि महासचिव राईले जानकारी गराए ।

एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र सोमबार स्वीकृती दिएको सदस्य सचिव घिसिङले मन्त्री श्रेष्ठलाई स्पष्टिकरण दिएका थिए । यसबाहेक ५ जना एन्फा भीआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतिको लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारे ।

यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृति नलिएको जिकिर गरे । उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए । तर एन्फाले उनीहरूको भीसाको लागि बेलायती राजदुतावासमा भीसाको लागि सिफारिस गरेको पनि बताए ।

राष्ट्रिय खेलकुद ऐेनअनुसार खेलाडी पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताए । सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्ने निर्णय युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले गरेका छन् । स्वीकृति नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन् ।

युवा तथा खेलकुद मन्त्रालयले परिषदको स्वीकृति बिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ ।

नेपाली टोलीले ब्रिटिश आर्मी टिम र इङ्गल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले यी दुई टीमसँग खेल्ने २३ सदस्यीय टोली छन् । नेपालले ब्रिटिश आर्मी टीमसँग मे ३ र इङ्गल्यान्ड ‘सी’ सँग मे ६ मा मैत्रीपूर्ण खेल खेल्नेछ ।