३० बैशाख २०८१, आईतवार
Follow Us

एसिया प्यासिफिक सम्मेलन सुरु

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार ०५:०३

काठमाडौं । आजदेखि काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन सुरु हुँदैछ । सम्मेलन सोमबार काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै सकिने छ । सम्मेलनमा सहभागी हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु आइसकेका छन् ।

दक्षिण कोरियामा रहेको अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । विभिन्न देशका सरकार प्रमुखसहित यति धेरै प्रतिनिधि बोलाएर हुन लागेको यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको ठूलो अन्तर्राष्ट्रिय सम्मेलन भएको आयोजकहरुको दावी छ ।

यो सम्मेलन आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापी मूल्य मान्यताका विषयमा केन्द्रित हुने बताइएको छ । सम्मेलनको मूल एजेण्डा भने गरिबी, आतंकवाद, खाद्य, सुरक्षा र जलवायु परिवर्तन रहने आयोजकले जनाएको छ । सम्मेलनमा सहभागी हुन फिलिपिन्सका उपराष्ट्रपति लोनी रोड्रेबो, बुधबार नै काठमाडौं आउनु भएको थियो । यस्तै हिजो म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुग्नु भएको छ । अन्य देशका राष्ट्रप्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरु पनि आउने क्रम जारी छ ।

सम्मेलनमा पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी, अफगानिस्तानका पूर्व उपराष्ट्रपति, कोलाम्बियाका पूर्व राष्टपति, इन्डोनेसियाका संसद प्रमुख, टोंगा सरकारका प्रवक्ता, फिजीका सभामुख पनि सम्मेलनमा सहभागी हुने बताइएको छ । क्रिश्चियन धर्म प्रचारका लागि कार्यक्रम गरिएको भन्दै आलोचना भएपछि आयोजक संस्थाले कार्यक्रममा क्रिश्चियन मात्रै नभई सबै धर्मका गुरुहरुलाई समेत निम्तो दिएको छ ।

हिन्दू धर्मलाई प्रतिनिधित्व गर्दै वृन्द्रावनका गोस्वामी आउनु भएको छ भने उहाँका साथमा बीजेपीका नेता विजय जोली काठमाडौं आइपुगिसक्नु भएको छ । ताइवानबाट अन्तर्राष्ट्रिय बुद्धिस्ट संघका अध्यक्ष चिनचुङ याङ र भारतबाट मुस्लिम धर्मलाई प्रतिनिधित्व गरेर इमाम प्रमुख डाक्टर उमर अहमद इल्यासी आउनुहुने आयोजकले जनाएको छ ।

क्रिश्चियन धर्म गुरुका रूपमा भने म्यान्मारस्थित वाप्टिस्ट एसोसिएसनका राष्ट्रिय अध्यक्ष जा खादर आउने तय भएको छ । सबै धर्मका गुरुहरु सहभागी सम्मेलनमा साझा शान्तिको बाटो के हुने भन्ने बारेमा पनि छलफल हुने आयोजक संस्था यूपीएफले जनाएको छ । सम्मेलनमा आउने पाहुनाले काठमाडौंका होटल भरिने भएको छ