१ श्रावण २०८२, बिहीबार
Follow Us

पर्सामा ४६ करोड भन्दा बढीको धान उत्पादन

nepalbritain news
१९ मंसिर २०७५, बुधबार १०:४४

पर्सा । यस वर्ष पर्सामा ४६ करोड भन्दा बढीको धान उत्पादन भएको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा ४६ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको १९ हजार १० मेट्रिक टन धान बढी उत्पादन भएको छ।

कृषि ज्ञानकेन्द्र पर्साका अनुसार अघिल्लो वर्ष किसानले ४७ हजार ३६० हेक्टर क्षेत्रफलमा धानखेती गरेकोमा प्रतिहेक्टर ४.४ मेट्रिक टन अर्थात् २ लाख आठ हजार ४० मेट्रिक टन धान उत्पादन गरेको थियो। तर, यस वर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरी प्रतिहेक्टर ५.०५ मेट्रिक टन अर्थात् २ लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेको छ।

यस वर्ष ९.१२ प्रतिशतको हिसाबले धान उत्पादन बढ्न गएकाले पर्साका किसानले ४६ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको १९ हजार १० मेट्रिक टन बढी धान फलाउन सफल भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ। गण्डक नहरमा समयमा पानी छोडिएको, समयमा वर्षा भएको, रोग किराको प्रकोप नदेखिएको, बाढी पहिरोको प्रकोप नभएको, उन्नत जातको धानको बीउ प्रयोग भएकोजस्ता कारणले अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सामा धान बढी फलेको केन्द्रका प्रमुख डा. रामचन्द्र यादवले बताए।

व्यावसायिक रुपमा धानखेती गर्ने पर्साका ९० प्रतिशत किसानले यसवर्ष सर्णासब–१ सोना मन्सुली साबा मन्सुलीलगायत उन्नत जातको धानखेती गरेका थिए। जिल्लामा सिँचाइ योग्यभूमि ५४ हजार ७३२ हेक्टर क्षेत्रफल रहे पनि २९ हजार ८३१ हेक्टरमात्र सिञ्चित रहेको छ। स्थानीय बजारमा हाल धान प्रतिकिलो २४ रुपैयाँ ६० पैसाको दरले बिक्री हुँदै आएको छ।
डिसी नेपाल

धेरै पढिएको