१८ बैशाख २०८१, मंगलवार
Follow Us

नेका केन्द्रीय समिति बैठक जारी

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७५, शुक्रबार १४:३३

काठमाडौं । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान श्रेष्ठ, दिपक गिरी, अजयकुमार चौरसिया, किशोरसिंह राठौर, मोहनबहादुर बस्नेत तथा केन्द्रीय आमन्त्रित सदस्य आनन्द विष्ट र अमरसिंह पुनले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गर्नुभएको थियो ।

मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ । अर्काे बैठक भोलि शनिबार बिहान ९ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले प्रधानमन्त्रीले हालै एक टेलिभिजनको कार्यक्रममा व्यक्त गर्नुभएको शब्दहरुप्रति असहमति प्रकट गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणका दोषीहरुलाई कारवाहीको कठघरामा ल्याउन पनि बैठकले सरकार समक्ष माग गरेको छ ।