२८ बैशाख २०८१, शुक्रबार
Follow Us

मेलम्ची खानेपानी आयोजनाको भविष्य अनिश्चित

नेपालब्रिटेन संवाददाता
३ पुष २०७५, मंगलवार ०५:२७

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर भाग्न खोज्ने इटालियन ठेकेदार कम्पनीका आठ कर्मचारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त दरबारमार्गको संयुक्त टोलीले इटालियन कम्पनी सिएमसीका प्रोजेक्ट म्यानेजर सहितका कर्मचारीलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाएको हो ।

उनीहरूको पासपोर्ट समेत जफत गरिएको छ । मेलम्ची आयोजनाका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहितका कर्मचारी ठमेलस्थित एक होटलबाट पक्राउ परेका हुन । उनीहरु क्रिसमस मनाउने बहानामा सोमबार दिउसो कतार एयरमार्फत सरकारलाई समेत जानकारी नगराई भाग्न खोजेको प्रहरीले जनाएको छ । इटालियन कम्पनी सिएमसी टाट उल्टिने अवस्थामा पुगेकाले ति कर्मचारीहरु भाग्न खोजेको बताइएको छ ।

प्रहरीसँग पक्राउ परेका कर्मचारीले कम्पनी डुबेपछि देश फर्कन खोजेको बताएका छन् । इटालीको प्रसिद्ध निर्माण कम्पनीमा एक बर्षदेखि नगद प्रवाहमा समस्या देखिएपछि टाट उल्टने अवस्थामा छ । ठेकेदार कम्पनी नै टाट पल्टिएपछि मेलम्चीको भविश्य पुन अनिश्तित जस्तै भएको छ ।

बहुचर्तित मेलम्चीको सुरूङ ढलान एक किलोमिटर बाँकी छ । कंक्रिट लाइनिङको काम ९ सय ६० मिटर बाँकी छ । इन्टेकको काम पनि बाँकी छ भने हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम पनि बाँकी रहेको आयोजनाले जनाएको छ ।