१६ बैशाख २०८१, आईतवार
Follow Us

किन काँग्रेसले गर्दैछ देशव्यापी प्रदर्शन (कारण सहित)

नेपालब्रिटेन डट कम्
१६ माघ २०७५, बुधबार ०९:५३

काठमाडौं– नेपाली काँग्रेसले वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाकाबारे गम्भीर ढंगले छानवीन गर्न माग गरेको छ । माघ २१ को देशव्यापी विरोध प्रदर्शन मार्फत यसका लागि थप दबाब श्रृजना गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

शर्माले नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र सक्ने वुढीगण्डकी जलविद्युत आयोजना विना प्रतिश्पर्धा विदेशी कम्पनीलाई दिइएकोबारे पनि आपत्ति जनाए ।

निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्ती, ३३ किलो सुन काण्ड, प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा भएको भनिएको अनियमितताको बारे पनि गम्भीर ढंगले छानबिन हुनुपर्नेमा जोड दिए ।

संघीयता कार्यान्वयनका बाँकी कार्यभार पुरा गर्न भइरहेको ढिलाईले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न खडा भएको ठहर गर्दै काँग्रेसले कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा जोरहेको आरोप लगाएको छ ।

काँग्रेसले माघ २१ गतेको देशव्यापी प्रदर्शन गर्नुको विभिन्न ६ कारण समेत दिएको छ । जसमा गोविन्द केसीको मुद्दा, संवैधानिक परिषदमा गरिएको नियुक्ति, देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध, महंगी, भ्रष्टाचार एवं अनेकौं सरकारले गरेका विभिन्न निर्णयहरु रहेका छन् ।

माघ २१, राष्ट्रव्यापी विरोध प्रदर्शनका सम्बन्धमा

(१) संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द के.सी.को अनसनप्रति संवेदनहीन व्यवहार ।
(२) स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास ।

(सरकारले आफ्नो गल्ती सच्याएको भन्ने विवरण संचार माध्यममा आएका छन्, यस बारेमा पार्टीलाई औपचारिक जानकारी प्राप्त भएको छैन । दर्जनौं गल्तीहरु गरिसकेको सरकार तिनलाई सच्याएर अघि बढोस् भन्ने हाम्रो दबाब जारी रहनेछ ।)

(३) प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना ।
(४) देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र ।
(५) महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।
(६) जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू ।