१६ बैशाख २०८१, आईतवार
Follow Us

विद्यार्थी बिदेसिने क्रम अत्यधिक, ४ वर्षमा साढे दुई लाख बिदेसिए

नेपालब्रिटेन डट कम्
२४ माघ २०७५, बिहीबार ०२:२६

काठमाडौं । अध्ययनका लागि विदेसिने विद्यार्थीको संख्या चार वर्षकै अन्तरालमा दुई गुणा बढीले बढेको पाइएको छ ।
२०७० सालमा २८ हजार १ सय २६ जना विद्यार्थी बिदेसिएकामा २०७४ सालमा बढेर ५८ हजार ७ सय ५८ पुगेको छ । राजधानी दैनिकमा खबर छ ।
पछिल्लो पाँच वर्षयता झन्डै २ लाख ४० हजार विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । अध्ययन अनुमतिपत्र लिएर ७१ देशमा २ लाख ३५ हजार ७४ विद्यार्थी बाहिरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७०/०७१ मा २८ हजार १ सय २६, २०७१/०७२ मा ३० हजार ६ सय ९६, २०७२/०७३ मा ३२ हजार ४ सय ८९ जना विद्यार्थी बिदेसिएको वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख देवीप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार ती विद्यार्थी खर्च व्यक्तिगत रूपमा बेहोर्ने गरी अध्ययनका लागि गएका हुन् ।
यस्तै, २०७३/०७४ मा ५० हजार ६ सय ५९ र २०७४/०७५ मा ५८ हजार ७ सय ५८ जना विद्यार्थी बाहिरिएका छन् ।
वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले पछिल्लो ६ महिनामा ३४ हजार ३ सय ४६ जना विद्यार्थीले विदेश जान अनुमति लिएको जनाएको छ ।
२०७५ साउनमा ४ हजार ८ सय १६, भदौमा ६ हजार ६ सय ६४, असोजमा ५ हजार ७ सय ८८, कात्तिकमा ३ हजार ६ सय ८१, मंसिरमा ६ हजार ६ सय २७ र पुस मसान्तसम्म ६ हजार ७ सय ७० जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र लिएका छन् ।

२०७४ साउनदेखि मंसिर मसान्तसम्म ६२ देशमा विद्यार्थी अध्ययनका लागि गएका छन् । जसअन्तर्गत सबैभन्दा धेरै अस्टे«लिया जान २१ हजार ७ सय ७९ जना विद्यार्थी बाहिरिएका छन् । यस्तै, जापानमा ३ हजार ३ सय २९, भारतमा १ हजार ३ सय ८०, चीनमा १ हजार २ सय २५ र साइप्रसमा ८ सय ८० विद्यार्थी अध्ययनका लागि गएका छन् ।
यस्तै, क्यानडामा ७ सय ४० यूएसएमा ६ सय ९२, न्युजिल्यान्डमा ५ सय ५८, दक्षिण कोरियामा ५ सय ३६, यूएईमा ४ सय ८५, बंगलादेशमा ४ सय ७३, फ्रान्समा ३ सय ११, थाइल्यान्डमा २ सय ८६ र पोल्यान्डमा २ सय ६५ जना विद्यार्थी अध्ययनका लागि गएका छन् ।