२१ बैशाख २०८१, शुक्रबार
Follow Us

दुबईमा बडादशैं

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७३, बिहीबार ०७:३०

यूएई । नेपालीहरुको महान पर्व बडादशैंका दिन दुबईमा रहेका नेपालीहरुले विभिन्न स्थानमा सामूहिक र छुट्टाछुट्टै टका लगाएर पर्व मनाएका छन् । परदेशमै भए पनि दशैंको टीका लगाएर हिँडिरहेका नेपालीहरुको चहल-पहल देख्दा विदेशसमेत दशैंमय देखिएको थियो ।

दशैंको मुख्य दिनका रुपमा लिइने टीकाको दिन आफूभन्दा ठूला ब्यक्तिबाट टीका ग्रहण गरेर यहाँका नेपालीले यो पर्वलाई आपसमा शुभकामना साटासाट गर्दै मनाएका छन् ।

दुबईका विभिन्न लेबर क्याम्पमा रहेका नेपालीहरुले सामूहिक रुपमा भेला भई टीका लगाएर विभिन्न परिकार खाँदै दशैं मनाए । घरबाट टाढा रहे पनि आफ्नो चाडबाड मानेका नेपालीहरुलाई भेट्दा घर जान जान नपाएकाहरुमा पनि खुशी देखिन्थ्यो ।

टीकाकै दिन दुबईमा रहेको एभरेष्ट रेष्टुरेण्ट ग्रुपले पनि टीका, जमरा र प्रसादको व्यवस्था गरेको थियो । एभरेष्ट रेष्टुरेण्ट ग्रुपका सञ्चालक डा. दिनेश आचार्यका ८० वषर्ीय मातापिता डिल्लीप्रसाद आचार्य र मिठु आचार्यले टीका र आशिर्वाद प्रदान गरेका थिए ।

हिमालयन रेष्टुरेण्ट, बरदुबईमा आयोजना गरिएको कार्यक्रममा झण्डै २५० जना नेपालीले टीका ग्रहण गरेका थिए । टीका लगाउन आउने नेपालीहरुका लागि रेष्टुरेण्टले सेलरोटीका साथमा दक्षिणाको पनि व्यवस्था गरेको थियो ।

यता, नेपालीबाटै सञ्चालित सगरमाथा रेष्टुरेण्टले पनि टीका लगाउने व्यवस्था गरेको थियो । नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटालगायतले टीका लगाउन आएका नेपालीलाई आशिर्वाद प्रदान गरेका थिए ।

यसबाहेक आफू बसेको कोठामा रहेका नेपालीहरुले आपसमै साथीभाइसँग टीका लगाएर दशैं पर्व मनाए । परदेशमा रहेर पनि आफ्नो ड्युटी समय मिलाएर नेपालीहरुले घर सम्झँदै आपसमा मिलेर दशैं पर्व मनाए । -तुफान घिमिरेबाट