२३ बैशाख २०८१, आईतवार
Follow Us

दुर्गममा टेम्पो

sarusaru
१५ बैशाख २०७६, आईतवार ०३:३०

उदयपुर — पछिल्लो समय पूर्वी पहाडको उदयपुर, भोजपुर र खोटाङमा तीन पांग्रे टेम्पोको प्रयोग बढदै गएको छ । छिटो, सजिलो र थोरै लागतमा तराई पहाड सजिलै गुडने भएकाले पनि पहाडी क्षेत्रमा टेम्पोको प्रयोग बढेको हो ।

सामान्य सवारी साधन गुडने सडकमा सहजै गुडने र ओरालो उकालो सजिलै गर्ने भएकाले पनि टेम्पोको माग बढेको स्थानीयले बताए । अन्य सवारी साधनमा खचाखच यात्रु भरिएर मात्रै गुड्ने, भनेजस्तो सजिलो नहुने भएकाले पनि टेम्पोमा सर्वसाधारण आकर्षित भएका छन् ।

उदयपुरको कटारी, गाईघाट, बेल्टार र रामपुर मुख्य व्यापारीक केन्द्र हुन । यी व्यापारीक केन्द्रको सम्वन्ध माथिल्लो विकट पहाडी क्षेत्रसंगै भोजपुर र खोटाङसंग छ । मुख्य व्यापारी केन्द्रबाट विकट पहाडी क्षेत्रमा सार्वजनीक वस, वोलेरो जिप, ल्याडलोभरमा सर्वसाधरणले यात्रा गर्ने गर्छन् ।

विकल्प नहुँदा यीनै सवारी साधनमा कोचिएर पहाडी क्षेत्रको यात्रा गर्नुपर्थ्यो । तर टेम्पोको आगमनसंगै पछिल्लो समय यात्रुबाहक बस जिपमा कोचिएर यात्रा गर्न नसक्ने र चाडै पुग्नु पर्ने यात्रुले टेम्पो नै रोज्ने गरेको व्यवसायी बताउँछन् ।

मोटरसाइकल पुग्ने विकट गाउँमा पनि पुग्न सक्ने भएकाले पहाडी क्षेत्रमा यसको प्रयोग बढेको छ । तीन पांग्रे टेम्पो पेट्रोलबाट चल्ने भएकाले पनि उकालो ओरालो गर्न सजिलो हुने गरेको व्यवसायी विनोद खतिवडाले बताए । ‘४ जान यात्रु बोकेर सजिलै गुड्न सक्छ’ व्यावसायी खतिवडाले भने, ‘पहाडी कच्ची सडकमा ४ यात्रु बोकेर सजिलै उक्काले चढन सक्छ, त्यसैले पनि यात्रुले टेम्पो रोज्ने गरेका छन् ।’

चौदण्डीगढी नगरपालिको केन्द्र बेल्टार बजारबाट करिब २३ किलोमिटर पहाडी क्षेत्र वङ्गसिला घाटसम्म दैनिक ५० को संख्यामा टेम्पोले यात्रुलाई सेवा दिइरहेको उनले बताए । बेल्टारबाट वङ्गसिला घाटसम्म सामन्य मानिन्छ । ३ सय ५० रुपैयाँ भाडा लिने गरेको अटो टेम्पो वङ्गसिला घाटमात्रै होइन गाईघाटबाट उदयपुरकै उच्च पहाडी क्षेत्र रौतापोखरी र खोटाङको रेग्मीटारसम्म पुग्ने गरेको छ । यता सप्तकोसीको चतरा पुलदेखि भोजपुरको घोडेटारसम्म टेम्पोले सजिलै सेवा दिइरहेको छ ।

‘सप्तकोसीको चतरापुलदेखि दुध कोसीको चुवारसम्म तल्लो क्षेत्रका टेम्पोले यात्रु बोक्ने गरेका छन्’ भोजपुरको हतुवागढी गाउँपालीका ९ हसनपुरका पूर्व माओवादी लडाकुसमेत रहेका टेम्पो व्यवसायी रुद्र राईले भने, ‘चतरादेखि चुवारसम्म उताबाट ल्याएको यात्रुलाई यताबाट घोडेटारसम्म टेम्पोले नै पुर्‍याउने गरेका छौ ।’

चतरादेखि चुवार र चुवारदेखि हतुवागढीको केन्द्र घोडेटारसम्म ४८ किलोमिटर अटोमा यात्रा गरे वापत भने यात्रुले ६ हजार रुपैयाँ तिर्नुपर्ने उनले वताए । पहाडी क्षेत्र भएकोले रिजर्भमात्रै चल्ने भएकोले थोरै महगो भए पनि यात्रुको रोजाई टेम्पो नै भएको रुद्रले बताए । ‘३/४ जना मिल्ने र अटो रिजर्भ गरेर लैजाने गरेका छन्’ व्यवसायी राइले भने, ‘पहाडी क्षेत्र भएकोले ३ हजार रुपैया तिरेर अटो टेम्पो चढ्नु सस्तो हो भन्दै यात्रुले खुसीका साथ चढने गरेका छन् ।’

पछिल्लो समय सजिलो र छिटोसगै रमाइलोका लागि पनि अटो टेम्पो चढ्ने गरेको उनले बताए । तराईका बजारमा यात्रुको माग भन्दा बढि टेम्पो भएकाले पहाडी क्षेत्रतिर विस्तार हुँदै गएको उदयपुर सिटी सफारी यातायातका अध्यक्ष जयप्रसाद आचार्यले बताए ।
कान्तिपुर