२० बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल भ्रमण वर्षलाई सफल पार्न राजदूत डा. सुवेदीको आग्रह

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७६, बुधबार ०५:३९

लण्डन । नेपाल पर्यटन बोर्ड समेत एक प्रायोजक रहेको ‘द ब्रिटिश ट्राभल एण्ड हस्पिटालिटी हल अफ फेम’ अवार्ड सोमबार साँझ वितरण गरिएको छ । सेन्ट्रल लण्डनको पार्क लेनस्थित फोर सिजन्स् होटलको सभाहलमा आयोजित समारोहमा युवा मेनेजर र युवा उद्यमीका साथै बिजनेस अचिभमेन्ट र सस्टेनेबल बिजनेस लगायतका शीर्षकमा अवार्डहरु वितरण भए ।

ट्राभल, टुरिजम तथा हस्पिटालिटीको क्षेत्रमा उदाहरणीय सफलता प्राप्त गर्दै अरुको लागि समेत प्रेरणा बन्न सफल उद्यमी र प्रोफेसनलहरु अवार्डबाट सम्मानित भए ।समारोहमा प्रायोजक नेपाल बोर्डको प्रतिनिधित्व गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी पनि सहभागी थिए ।

अवार्ड वितरणको क्रममा विजेताको नाम घोषणा गर्न स्टेजमा बोलाइएका राजदूत डा सुवेदीले नेपाल भ्रमण वर्ष २०२० को लागि अपील समेत गरे ।

बेलायतमा ट्राभल, टुरिजम तथा हस्पिटालिटीको क्षेत्रमा संलग्न ३ सय उद्यमी तथा प्रोफेसनलहरुमाझ राजदूत डा सुवेदीले नेपाल भ्रमण वर्षलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिन आग्रह गरे ।

भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने नेपालको लक्ष्य सुनाउँदै उनले नेपाल घुम्नको लागि शान्त, सुन्दर र उत्कृष्ट गन्तव्य रहेको जानकारी गराए ।

नेपाल तथा बेलायतबीचको २ वर्ष लामो ऐतिहासिक सम्बन्धदेखि वर्षेनी दशौं हजार बेलायती पर्यटक नेपाल भ्रमणमा जाने प्रसंग उल्लेख गर्दै राजदूत डा सुवेदीले भ्रमण वर्षलाई सफल पार्न पनि बेलायतको महत्वपुर्ण भुमिका रहने धारणा व्यक्त गरे ।

अवार्ड वितरणपछि हल अफ फेमका नयाँ सदस्यहरुको ‘इन्डक्सन’ गराइएको थियो । अपांगता भएका बालबालिकाहरुको सहयोगमा क्रियाशिल ‘विज किड्ज’ नामक च्यारिटीबारे एक प्रिजेन्टेसन प्रस्तुत गर्दै सहयोगको लागि अपील पनि गरिएको थियो ।
समारोहमा प्रायोजकको रुपमा पोर्चुगल सरकारकी पर्यटनमन्त्रीका साथै बेलायत तथा युरोपमा क्रियाशिल ट्राभल एण्ड हस्पिटालिटी क्षेत्रका पायोनियरहरु उपस्थित थिए ।

नेपाल पर्यटन बोर्डको प्रतिनिधित्व गर्दै राजदूत डा सुवेदीसंगै लण्डनस्थित नेपाली दूतावासका तृतीय सचिव भुपेन्द्र घिमिरे र पत्रकारहरु भगिरथ योगी, नविन पोखरेल, ध्रुवराज अर्याल, फडिन्द्र भट्टराई, विपिन निरौला, जगन कार्की लगायत सहभागी भएका थिए ।