२० बैशाख २०८१, बिहीबार
Follow Us

बार्सिलोनाको सानदार जित, मेस्सी र स्वारेजले हाने गोल

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार ०५:५८

कप्तान लियोनल मेस्सी र लुईस स्वारेज चम्किएपछि युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलानोले सानदार जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा स्पेनिस महारथि बार्सिलोनाले इङ्लिस टोली लिभरपुललाई ३–० गोलले हरायो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । स्वारेजले एक गोल गरेका थिए ।

स्वारेजले २६औं मिनेटमा गोलगर्दै घरेलु टोलीको उत्साह बढाए । उनले जोर्डी अल्बाको पारमा गोल गरेका थिए । पहिलो हाफका १–० गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

दोस्रो हाफमा थप शसक्त देखिएको बार्सिलोनाका लागि दुवै गोल मेस्सीले गरे । मेस्सीले ७५औं मिनेटमा गोल गरेका थिए । स्वारेजको प्रहार पोस्टमा लागेर फर्किएको बलमा मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि मेस्सीले ८२औं मिनेटमा करिव ३५ यार्ड लामो फ्रिकिकमा उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित पारे ।

यससँगै मेस्सीले बार्सिलोनाका लागि ६ सय गोल पूरा गरेका छन् । सन् २००५ अल्वासेटविरुद्ध बार्सिलोनाका लागि पहिलो गोल गरेका मेस्सीले स्पेनिस ला लिगामा चार सय १७, कोपा डेल रेमा ५० र च्याम्पियन्स लिगमा एक सय १२ र अन्य प्रतियोगितामा २१ गोल गरी कूल ६ सय गोलको आँकडा पूरा गरेका हुन् ।

बार्सिलोनाको तुलनामा कमजोर देखिएको लिभरपुलले पहिलो र दोस्रो हाफमा केही राम्रा गोलको अवसर गुमाएको थियो । खेलको अन्तिममा मोहमद सलाहको प्रहार पोस्टमा लागेर फर्किएपछि लिभरपुल पहिलो लेगमा गोलरहित फराकिलो हार खेप्न बाध्य बन्यो ।

यस हारले लिभरपुललाई दोस्रो लेगमा फराकिलो जित निकाल्न दबाब थपिएको छ ।