१९ बैशाख २०८१, बुधबार
Follow Us

मन्त्रीले कर्मचारीलाई थर्काउँदै भने, ‘थुन्दिम् ?’

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७६, बिहीबार ०३:३०

काठमाडौँ — समाचार संकलनका क्रममा म मन्त्रालय पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको चर्काे आवाज आयो ।

मिति :२०७६ जेठ १
स्थान:उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
समय:दिउँसो ३ बजे

सहसचिव नवराज ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ म । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको चर्काे आवाज आयो । तत्काल त्यहाँ पुगें । केही कर्मचारीले निजी सचिवले घूस खाएर सरुवा गरेको आरोप लगाइरहेका थिए । उनीहरूले उद्योग विभागमा सरुवा गर्नुपर्नेको नाम काटेको आरोप लगाए । आधिकारिक ट्रेड युनियनका शोभाकार रेग्मी र विश्वबन्धु रेग्मीले घूस खाएरै उद्योग विभागमा सरुवा नगरिएको आरोप लगाइरहेका बेला अरू कर्मचारी पनि टेबल ठोकेर चर्को स्वर गरिरहेका थिए । यत्तिकैमा मन्त्री यादव जंगिँदै बाहिर निस्के ।

मन्त्री यादव : किन बबाल गरेको ? झगडा गर्ने को हो ?

कर्मचारी : हैन मन्त्रीज्यू, बबाल गरेकँ होइनौं हामीले ।

मन्त्री : यहाँ नेतागिरी गर्ने होइन । कर्मचारी हो भने कर्मचारीजस्तै काम गर्ने ।

स्वकीय सचिव सन्तोष बिष्ट : उहाँले (आचार्यतिर देखाउँदै) पैसा खाएको के प्रमाण छ ? भन्नू त ।

मन्त्री : पैसा खाएको भए प्रमाण जुटाउनुस् अहिल्यै । ढोका बन्द गरिहाल्नु त । प्रमाण ल्याएपछि मात्रै ढोका खोल्नू, नभए यहीं थुन्नू ।

(बाहिर निस्कन खोजेका कर्मचारीलाई मन्त्रीले कठालोमा समातेर भित्र ताने ।)
कर्मचारी : किन ढोका बन्द गर्ने हामीलाई ?

(कोठाभित्र चर्काचर्की/होहल्ला झनै बढ्यो । ‘ठोक/ठोक’ भन्ने आवाज सुनियो ।)

मन्त्री : हात हाल्ने ? मेरो कर्मचारीमाथि हात हाल्ने ?

कर्मचारी : मन्त्रीज्यू । उहाँले हात हाल्नुभएको छैन, हामी हजुरसँग कुरा गर्न पछि आउँछौं (बाहिर निस्कन खोज्दै) ।

कोठाबाट आवाज आउँछ : नराम्रो काम गरेबापत हटाएको कर्मचारीलाई उद्योग विभागमा लगियो । गृहले घूस खायो भनेर हटाइएको मान्छेलाई त्यहाँ उच्च मूल्यांकन गरेर पठाइयो ।
(अर्का पीए यज्ञ खरेलले मन्त्रीलाई कार्यकक्षमा जान भने)
मन्त्री : तिमी बीचमा किन ? तिम्लाई पिटम् ?

फेरि मन्त्रीको स्वर : यो मन्त्रालयमा कसले घूस खाएको छ ? प्रमाण नभएसम्म थुन्छु । नेतागिरी गर्ने हो भने ठीक ठाउँमा (राजनीतिमै) आउनुपर्‍यो । कान्तिपुरमा राजु चाैधरीले याे समाचार लेखेका हुन् ।