काठमाडौँ । नेपाली चलचित्र ‘सारथी’ ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर गत मङ्गलवार आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो ।
किन्भे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बटुलेका तारा थापा किम्भे रहेका छन् ।
चलचित्रका निर्माता मध्ये एक अमीर के.सी का अनुसार फिल्मको प्रि–प्रोडक्सन कार्य लगभग सम्पन्न भइसकेको छ । अब छिट्टै छायांकन मिति तय गरी टिम फिल्डमा जाने तयारी भइरहेको छ ।
फिल्मको छायांकन म्याग्दी जिल्लाको सुन्दर पर्यटकीय क्षेत्र गुर्जा खानीमा गर्ने योजना रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण लोकेसनले फिल्मलाई थप आकर्षक बनाउने विश्वास निर्माण टिमको छ ।
हालसम्म चलचित्रका कलाकार तथा अन्य प्राविधिक टिमबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । तर, निर्माण टिमले फिल्म भावनात्मक कथावस्तुमा आधारित हुने संकेत दिएको छ ।