१८ बैशाख २०८१, मंगलवार
Follow Us

अष्ट्रियामा जमेका दिलकुमारको कथा

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार २१:०९

अष्ट्रिया (इन्सवर्क) । विदेशमा नेपालीले पैसामात्रै कमाएका छैनन्, आफ्नो देशको नामसमेत उच्च राखेका छन् । दामसँगै नाम पनि कमाइरहेका छन् उनीहरूले । हुन त सबैलाई नाम र दाम मिल्दैन ।
अष्ट्रियामा दामसँगै नामसमेत कमाइरहेका नेपाली हुन्– दिलकुमार घमाल । उनी अष्ट्रियाको सुन्दर सहर इन्सवर्कमा विगत १९ वर्षदेखि बसोबास गर्दै आएका छन् । पोखरा जन्मथलो भएका घमालले घरजमसमेत उतै बसालिसकेका छन् । उनको व्यावसायिक र समाजसेवाको यात्रामा श्रीमती सोमत घमालले दरिलो साथ दिइरहेकी छन् । घमालका १७ वर्षीय छोरा लेओनकुमार र १७ महिनाकी छोरी दिवानी घमाल छन् । उनले रेष्टुरेन्ट व्यवसायमा छुट्टै पहिचान बनाइसकेका छन् अष्ट्रियामा । अष्ट्रियाका नाम चलेकामध्ये उनको रेष्टुरेष्ट पनि पर्दछ ।

घुम्दै जाँदा अष्ट्रियाको बसोबास
उनी पहिला जर्मनी घुम्न गएका थिए नेपालबाट । जर्मनी दुईपटक गए जर्मनी घुम्न गएको बेला उनी अष्ट्रिया पुगे । उनी सन् २००१ मा अष्ट्रियाको पर्यटकीय सहर इन्सवर्क पुग्दा पूरै हिउँले ढाकेको थियो । चिसो थियो । चारैतिर हिमाल, बीचमा सहर । “पहिला त लाग्यो म त स्वर्ग नै पो आइपुगेछु कि क्या हो,” उनी भन्छन्, “यहाँको सुन्दरता र रहनसहनले मोहनी नै लगायो । त्यसपछि यहीं बस्ने निधो गरें । अब त अष्ट्रिया घरजस्तै लाग्न थालेको छ ।” उनी आजभन्दा ४३ वर्षअघि नेपालको पर्यटकीयस्थल पोखरामा जन्मिएका हुन् । पोखरामा जन्मिएका उनी अष्ट्रियाको पर्यटकीयस्थल इन्सवर्कमा बस्दा सन्तुष्ट छन् । “जन्मभूमि र कर्मभूमि पर्यटकीयस्थल हुनु संयोग मान्नुपर्छ,” घमाल भन्छन्, “दुवै ठाउँको केही विशेषता मिल्दोजुल्दो छ ।”

अष्ट्रियाकै उत्कृष्ट रेष्टुरेन्ट
सेन्सी सुशी बार एण्ड रेष्टुरेन्ट र जयपुर गरी इन्सवर्कमा दुईवटा चर्चित रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् घमालले । दुवै जापानीज रेष्टुरेन्ट हुन् । घमालले सञ्चालन गरेका दुवै रेष्टुरेन्ट सन् २०११ देखि लगातार अष्ट्रियाको उत्कृष्टमा पर्दै आएका छन् । अष्ट्रियामा उच्च तहका १ लाखभन्दा बढी रेष्टुरेन्ट छन् । १ लाखमध्ये हरेक वर्ष १६ हजार रेष्टरेन्टको गुणस्तरीयता, प्रदान गर्दै आएको सेवासुविधा, नमुना, सरसफाईलगायतका विषयमा स्थलगत अध्ययन हुने गरेको छ । त्यसमध्ये २ सय ६७ वटा उत्कृष्ट रेष्टुरेन्ट छनौट गरिन्छ । घमालका दुवै रेष्टुरेन्ट हरेक वर्ष उत्कृष्टमा पर्ने गरेका छन् । उत्कृष्ट भएबापत अवार्डसमेत प्रदान गरिँदै आएको छ । उनले पाएका अवार्ड रेष्टुरेन्टको प्रवेशद्वार नजिकै झुण्ड्याएका छन् । उनको रेष्टुरेन्ट इन्सवर्कको मुटुमा अवस्थित छ । “यो ठाउँ पाउनु नै मेराका लागि ठूलो कुरा हो,” उनी भन्छन्, “यो ठाउँ पाउन यहाँका स्थानीय व्यवसायीसमेत मरिहत्ते गर्छन् । यो नेपालको ठमेल जस्तै हो । जहाँ विश्वका पर्यटकहरू आउने गरेका छन् ।” गुणस्तर, सेवा, सरसफाई, रेष्टुरेन्टको सजावटलगायत कुनै पनि क्षेत्रमा कमी हुन नदिएको उनको भनाइ थियो । उनले रेष्टुरेन्टबाट मात्रै वार्षिक अष्ट्रिया सरकारलाई ७ करोड नेपाली रुपैयाँभन्दा बढी बराबर कर तिर्छन् ।

आफ्नै ब्राण्डको वाइन
इन्सवर्कमा मात्रै १ हजारभन्दा बढी रेष्टुरेन्ट छन् । तर, उनकोमा पाइने वाइन अन्य रेष्टुरेन्टमा पाइँदैन । घमालले आफ्नो रेष्टुरेन्टका लागि भनेर वाइन उत्पादक कम्पनीसित छुट्टै सम्झौता गरेका छन् । १५ जनालाई प्रत्यक्ष रोजगारी दिएका घमालकोमा पाइने वाइनको छुट्टै स्वाद छ । त्यो स्वादको वाइन कम्पनीले अन्य रेष्टुरेन्टलाई बिक्री गर्न पाउँदैन । उनले वार्षिक १५ हजार बोतलको सम्झौता गरेका छन् । जहाँ चारथरिका वाइन पाइन्छ । फरक स्वादको वाइन खानकै लागि घमालको रेष्टुरेन्टमा सधैंजसो ग्राहकको भीड लाग्ने गरेको गरेको छ । “मेरो रेष्टुरेन्टमा पाउने वाइन अरु कसैले बिक्री गर्न पाउँदैन,” उनले थपे, “धेरै लामो अध्ययन अनुसन्धानपछि फरक स्वादको वाइन उत्पादन गराइरहेको छु । कम्पनीले पनि इमान्दारिताका साथ मेरै रेष्टुरेन्टका लागि भनेर उत्पादन गरिरहेको छ ।” हुन त उनको रेष्टुरेन्टमा स्वदेशी र विदेशी नाम चलेका ब्राण्डका वाइन र ह्विस्की पनि पाइन्छ । इन्सवर्कमा सबैभन्दा बढी चलेको रेष्टुरेन्ट उनकै हो । इन्सवर्क पुग्ने पर्यटकहरू उनको रेष्टुरेन्टमा पुग्ने गरेका छन् । त्यही भएर पनि उनको रेष्टुरेन्टमा वाइन र हुस्की उत्पादक कम्पनीहरू बिक्री गर्न लालायित हुन्छन् ।

नामजस्तै समाजसेवामा पनि दिलदार

उनलाई कुनै कुराले छोएपछि सहयोग गर्छन् । जन्मभूमि मात्रै होइन कर्मभूमिमा पनि घमालले सहयोग गरेका छन् । उनी अवस्था हेरेर सहयोग गर्छन् । भरिसक्य घमाल जो पीडित छ उसकै हातमा सहयोग दिन्छन् । भन्छन्, “यहाँ अरुको पीडालाई बेचेर आर्थिक आर्जन गर्नेहरू पनि छन् । त्यही भएर म अवस्था हेरेर पीडितकै हातमा पर्ने गरी सहयोग गर्छु ।” मानिस खाली हात आएर खाली हातै जाने भएकाले धेरै लोभ गर्नु ठीक नहुने उनको सुझाव छ । “मलाई समाजसेवा गर्दा आनन्द आउँछ, तर म गुप्तदान गर्न रुचाउँछु” घमालले भने, “यति दान गरें भनेर माइकमा फुक्ने चलन पनि छ । तर, दान भनेको गुप्त नै हुनुपर्छ । दानलाई प्रचार गर्नु आवश्यक छैन ।”
अष्ट्रिया घुम्न पुग्ने नेपालीलाई पनि खुल्ला मनले स्वागत गर्छन् उनी । इन्सवर्कका पर्यटकीयस्थल घुमाउँछन् । इन्सवर्कमा करिब ५० जना नेपाली छन् । ती सबैको उनी मियो भएर उभिएका छन् । बेला–बेला सबै नेपालीलाई बोलाएर पार्टीसमेत दिन्छन् उनी । नेपालीहरू भेला भएर रमाइलोसमेत गर्ने गरेको उनी सुनाउँछन् । “केही दिनअघि मात्रै यहाँका सबै नेपालीलाई भेला बनाएर रमाइलो गरियो,” घमालले भने, “हुन त यहाँ धेरै नेपाली छैनौं । जति छौं बेलाबेला भेटघाट गरिरहन्छौं ।” सबैसँग घुलमिल हुने बानीकै कारण उनी इन्सवर्कमा लोकप्रिय छन् । उनलाई स्थानीयले ‘दिल’ भनेर सम्बोधन गर्छन् । रेष्टुरेन्टमा आउने र सडकमा हिँड्दा उनलाई स्थानीयले गर्ने सम्बोधनले घमाल इन्सवर्कवासीको दिलमा बसिसकेका छन् ।

नेपालको राजनीतिबाट दिक्दार
उनी सात समुन्द्र पारि भए पनि नेपालको अवस्थाबाट टाढा छैनन् । नेपालका हरेक घटनाहरूसँग उनी निकट छन् । नेताहरूले जनताका लागि केही नगरेकोमा उनको गुनासो छ । राजनीतिक दलहरूले पार्टी, आफू र नातागोताबाहेक अरुका लागि केही नगरेको उनको दुखेसो छ । नेताहरूले जनतालाई भोटबैंकका रुपमा प्रयोग गर्ने गरेको उनले बताए । जनता जागरुक नभएसम्म नेताहरूले जनतालाई खेलौना बनाइरहने घमाल बताउँछन् । “सबै जनता मुर्ख छन् जस्तो गरी नेताहरूले यति हावादारी गफ दिन्छन् कि सुन्दा पनि लाज लागेर आउँछ,” उनले थपे, “पानीजहाज ल्याउन त पहिला पानीको ट्रयाक चाहियो नि । तर, प्रधानमन्त्री केपी शर्मा ओली पानीजहाज ल्याउँछु भनेर जनतालाई मुर्ख बनाइरहेछन् ।” दल र नेताहरूको यही कार्यशैली र काम गराइले नेपाल नबन्ने उनको ठोकुवा छ । उनकै शब्दमा अहिले नेपालका नेताहरू मोटाउँदै जाने र जनता दुब्लाउँदै जाने अवस्था छ । प्रधानमन्त्रीजस्तो व्यक्तिले नेपालमा सम्भावना नै नभएको बोल्न नहुने घमाल बताउँछन् । “चुनाव जित्नका लागि प्रधानमन्त्री ओलीले भविष्यमा चन्द्रमामा सगरमाथा होटल खोल्छु भन्न बेर छैन,” घमालले भने, “विदेशतिर त नेताले बोलेपछि अक्षरशः कार्यान्वयन हुन्छ । यदि भएन भने जनताले प्रश्न तेस्र्याहाल्छन् ।”

रेष्टुरेन्टमा कलिउडदेखि हलिउडसम्मका कलाकार

घमालले सञ्चालन गरेको रेष्टुरेन्ट अष्ट्रियामा मात्रै होइन विदेशमा समेत चर्चित छन् । चर्चित भएकै कारण प्रख्यात सेलिब्रेटीहरू उनको रेष्टुरेन्टमा पुग्ने गरेका छन् । अष्ट्रिया घुम्न पुगेका नेतादेखि कलाकारसम्म उनको रेष्टुरेन्टका पारखी बन्ने गरेका छन् । “रेष्टुरेन्टले दामसँगै नाम पनि दिएको छ,” घमाल खुसी हुँदै भन्छन्, “नामकै कारण चर्चित कलाकारहरू आउने गर्नुभएको छ । नाम स्थापित गर्न धेरै नै मेहनत गरेको छु ।”
सलमान खान उनको रेष्टुरेन्टमा दुईपटक पुगिसकेका छन् । विश्वका चर्चित फुटबलरहरू पनि उनको रेष्टुरेन्टमा पुग्ने गरेका छन् ।

इमान्दारिता र मेहनतले सफलता
इमान्दारिता र मेहनत भयो भने मानिस जुनसुकै क्षेत्रमा सफल हुन्छ भन्छन् उनी । मेहनत नगरिकनै रातारात करोडपति हुने लालसा राख्यो भने त्यो मान्छे असफल हुने घमाल बताउँछन् । आफू अहिलेको अवस्थामा आइपुग्नुको कारण इमान्दारिता, धैर्यता र मेहनत भएको उनले बताए । “जसमा इमान्दारिता, धैर्यता र मेहनत गर्ने क्षमता छ ऊ कहीं पनि असफल हुँदैन,” घमाल निर्धक्कका साथ भन्छन्, “म आज जहाँ छु मेरो इमान्दारिता, धैर्यता र मेहनतले छु ।” धेरै नै आरोहअवरोध पार गर्दै अहिलेको अवस्थामा आइपुगेको उनी बताउँछन् । जीवनमा आइपर्ने जस्तोसुकै परिस्थितिलाई सहज रुपमा लियो भने मात्रै मान्छेले प्रगतिको शिखर चुम्ने घमालको भनाइ छ ।

देशको विकास नभएकोमा दुःखी

सँगसँगै विकासको पथमा अगाडि बढेका मुलुक आर्थिक समृद्धिको चुचुरोमा पुग्दा नेपाल जहाँको त्यही हुँदा उनको मन कटक्क खाने गरेको छ । आफू विदेशमा जतिसुकै सुखमा भए पनि स्वदेशमा बस्ने नेपालीले दुःख पाएकोमा चिन्ता लागेको गरेको उनले सुनाए । “सिंगापुर, मलेसिया, दक्षिण कोरियालगायतका मुलुक ४०–४५ वर्षमै आर्थिक विकासको चुचुरोमा पुगेका छन्,” उनले भने, “तर नेपाल जहाँको त्यहीं छ । कछुवा गतिको विकासले आर्थिक समृद्धि हुँदैन ।” स्वदेशमा अवसर नभएकै कारण नेपालीहरू विदेश पलायन हुने क्रम बढ्दै गएको उनको भनाइ छ । दक्ष जनशक्ति विदेश पठाएर देश नबन्ने बताउँदै उनले भने, “अरु देशले दक्ष जनशक्तिलाई हायर गर्छन् र देश बनाउँछन् । तर नेपालबाट त दक्ष जनशक्ति निर्यात गर्ने सम्झौतामा सरकार हस्ताक्षर गर्छ । यस्तो पाराले देश बन्दैन ।”

– मीनकुमार नवोदित