१ जेष्ठ २०८१, मंगलवार
Follow Us

साउन आठ गतेसम्म बैठक स्थगित गरेको भन्दै कांग्रेसको आपत्ति

sarusaru
३० असार २०७६, सोमबार १३:०४

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन्।

उनले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसदमा छलफल गरेर अघि बढनुपर्नेमा प्रतिनिधिसभा बैठकनै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप लगाए। सभापति देउवाले सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै बाढी, पहिरो र डुबान पीडितको पक्षमा संसदमा पनि छलफल गरेर अघि बढनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा निन्दा गरे।

‘विपत्तिका बेला सिंगो संसद एकतावद्ध भएर अघि बढन आफ्नो पार्टीले सो विषयमा छलफल गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो,’ सभापति देउवाले भने, ‘तर सरकारले राष्ट्रिय संकटमा बेलामा पनि सो विषयमा संसदमा छलफल गर्न नदिन प्रतिनिधिसभा बैठक अचानक स्थगित गरायो।’

सभापति देउवाले राष्ट्रिय संकटमा बेला संसद बैठकमा सो सम्बन्धमा छलफल गर्ने संचारभरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको दावी गरे।
डिसी नेपाल