१६ बैशाख २०८१, आईतवार
Follow Us

विदेश जाने चक्‍करमा ठगिए सात युवा

sarusaru
२ भाद्र २०७६, सोमबार ०२:०४

विराटनगर : पैसा कमाउनका लागि विदेश जाने चक्‍करमा रुमलिएका सुनसरीको हरिनगरा गाउँपालिका-४ का सात युवा ठगिएका छन्। १९ देखि ३५ वर्ष उमेर समूहका गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल ठगिएका हुन्। आकर्षक कमाईका लागि दुवई पठाइदिने भनेर हरिनगरा-४ कै ३५ वर्षीय गिरेन्द्र साहले ठगी गरेको भन्दै युवाहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन्। कार्यालयले साहका नाममा पक्राउ पुर्जी जारी गरेको छ।

ठगीमा पर्नेहरुको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको पाइएको कार्यालयका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए। उनका अनुसार सातजना युवासँग ११ लाख ९० हजार रुपैयाँ उठाएर ठगी गरिएको छ।’पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण युवाहरु विदेश जान खोजेका रहेछन्,’ उनले भने, ‘सबै कुराको अनुसन्धान गर्ने क्रममा ठगी गरेको पुष्टि भएपछि त्यसमा संलग्नलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरिएको छ।’

पैसा फिर्ताका लागि पहल गरिदिन र ठगी गर्नेमाथि कारबाही गरिन माग गर्दै पीडित युवा भने विभिन्न निकाय गुहार्दै छन्। वैदेशिक रोजगारीका लागि दुवई पठाउने भनेर गत वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुर्‍याएपछि आफूहरु फिर्ता आउनु परेको युवाहरुले दिएको उजुरीमा खुलाइएको छ।

कामदारका रुपमा लैजाने भने पनि पर्यटक भिषामा पठाउन लागेको भन्दै विमानस्थलबाटै फिर्ता हुनु परेको पीडित मध्येका महेशकुमार मेहताले बताए। ‘हामीलाई कामदारका रुपमा दुवई पठाउने भनेर विमानस्थलसम्म पुर्‍याइयो,’ उनले भने, ‘पर्यटक भिषा भएका व्यक्तिले कामदारका रुपमा जान नपाउने भन्दै त्यहींबाट फिर्ता पठाइयो।’

अर्का युवा सञ्जय मण्डलका अनुसार प्रति व्यक्ति एक लाख ७० हजार रुपैयाँ उठाएर साह फरार छन्। विमानस्थलले सबैलाई फिर्ता पठाएदेखि नै साह सम्पर्कविहीन बनेको उनको भनाइ छ। उनका अनुसार काम गर्नका लागि दुवईको बलतिया कम्पनीमा पुर्‍याउने र नेपालको ५४ हजार रुपैयाँ मासिक तलब हुन्छ भनेर साहले सबैसँग गत चैतबाट पैसा उठाएका हुन् । मण्डलले सबैको राहदानी लिएर साह सम्पर्कविहीन बनेको बताए।

यता युवाहरुले आफूहरुबाट उठाएको रकम फिर्ता हुनु पर्ने माग गर्न थालेपछि ठगीमा संलग्न साहका बुवा रामफल साहले जिल्ला अदालत सुनसरीमा पीडितहरु विरुद्ध रिट हालेका छन्। विभिन्न धाक, धम्की दिएको भन्दै विपक्षीका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरिदिनु पर्ने माग गर्दै उनले रिट दायर गरेका हुन्। सबैले अदालतमा उपस्थित भएर प्रतिउत्तर फर्काउने काम गरिसकेको युवाहरुले बताए ।

श्रम अधिकृत सञ्जेलले दुवई पठाइदिन्छु भन्दै ठगी गरेका युवाको नाममा नेपालमा कुनै पनि मेनपावर दर्ता नभएको बताए । ‘मेनपावर नभइकन कोही कसैलाई विदेश पठाउन पाइँदैन र त्यस्तो प्रलोभन पनि देखाउन पाइँदैन,’ उनले भने, ‘कोही कसैले त्यसो गरेमा वैदेशिक रोजगार ऐन अन्तर्गत कारबाही हुन्छ।’

अन्नपूर्ण पोष्ट