काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको विकल्प तत्काल खोज्ने सम्भावनालाई पूर्णविराम लगाएको छ । ‘जेन-जी’ आन्दोलनले मुलुकका प्रमुख दलहरूमा नेतृत्व परिवर्तन र पुनर्गठनको बहस छेडिरहेका बेला, रास्वपाले भने रविको विकल्प नखोज्ने भएको हो ।
मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कोसी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सभापतिहरूले रवि लामिछानेको विकल्प खोज्ने कुरा निराधार रहेको स्पष्ट पारे । बागमती सभापति अच्युतम लामिछानेले ‘पुराना पार्टीमा चलेको हावामा रास्वपा कदापि विश्वास नगर्ने’ बताउँदै सभापति लामिछानेको विकल्प नखोजिएको जानकारी दिए । कोसीका सभापति तपेश्वर यादवले पनि लामिछानेप्रति पूर्ण विश्वास व्यक्त गरे भने कार्यवाहक सभापति सरिन तामाङले ‘रवि बिनाको रास्वपाको परिकल्पना नै नगरिएको’ बताए ।
लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले रास्वपामा नेतृत्वबारे छलफल गर्न नपाउने अवस्था नरहेको स्पष्ट पार्दै ‘सभापतिको विकल्पबारे हामीले सोचेका पनि छैनौँ’ भने । सुदूरपश्चिमका सभापति प्रकाश विष्टले पनि लामिछानेको विकल्प नखोजिएकोमा जोड दिए । गण्डकी र कर्णाली प्रदेशका सभापतिहरू भने पत्रकार सम्मेलनमा उपस्थित हुन सकेनन् ।
‘जेन-जी’ आन्दोलनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरूमा नेतृत्व परिवर्तनको बहस चर्काएको छ । रास्वपाभित्र पनि केही नेताहरूले यसबारे चर्चा गरेका छन्, जसमा नेतृ सुमना श्रेष्ठले यही विषयलाई लिएर पार्टी परित्याग गरेकी छिन् । तर, रास्वपाका अधिकांश नेताहरू सभापति लामिछानेको पक्षमा उभिएका छन् ।
यसैबीच, रास्वपाले सभापति रवि लामिछाने २४ भदौमा नक्खु कारागारबाट निस्कनुपर्नाको कारण कारागार प्रशासनको निरन्तर आग्रह रहेको दाबी गरेको छ । सहप्रवक्ता प्रतिभा रावलले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुरक्षा चुनौतीका कारण कारागार प्रशासनले पटक-पटक फोन गरेर लामिछानेलाई जिम्मा लिन आग्रह गरेको बताइन् । ‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटक-पटक दशौँ मान्छेलाई फोन आएपछि उहाँ निस्कनुभएको हो,’ रावलले भनिन्, ‘नक्खु कारागारको लेटरहेड प्रयोग भएर नै पत्र आएको छ । त्यसबारे त हामीले भन्दा पनि उहाँहरूले नै बोल्नुपर्ने होला नि ।’
पार्टी प्रवक्ता मनीष झाले पनि पत्रमा भएको केरकारबारे प्रश्न उठाइए पनि हस्ताक्षर र स्ट्याम्पबारे कसैले चर्चा नगरेकोमा आपत्ति जनाए । ‘पत्रबारे प्रश्न उठेको हुन्छ । केरिएको ठाउँमा हस्ताक्षर र स्ट्याम्प देख्नुभएन,’ झाले भने ।
रास्वपाले ‘जेन-जी’ आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको स्वीकार गरे पनि त्यसको अगुवाइ नगरेको स्पष्टीकरण दिएको छ । प्रवक्ता मनीष झाले आन्दोलनको क्रममा २४ गतेको घटना सोचेभन्दा फरक भएको बताए । ‘हाम्रो पार्टीमा जेन-जी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेन-जी पुस्ताबाट हुनुहुन्छ,’ झाले भने, ‘केन्द्रीय सदस्यहरू, सम्भवतः अरू पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रूपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ । तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाइ हो भनेर दाबी गरेका थिएनौँ ।’
प्रवक्ता झाले २४ गतेको घटनामा सहभागिताका लागि पार्टीको कुनै आह्वान नरहेको र आगजनी तथा लुटपाट रास्वपाको सिद्धान्त नभएकोमा जोड दिए । उनले अन्य पार्टीका नेता-कार्यकर्ता तोडफोडमा संलग्न भएको पुष्टि हुँदा पनि चुइँक्क नबोलेको, तर रास्वपाका सदस्यहरूले स्वतः राजीनामा दिएको बताए । झाले आफूमाथि ‘जेन-जी’ आन्दोलनका क्रममा नक्खु कारागार जलाउन नेतृत्व गरेको आरोप लागेको भन्दै आपत्ति जनाए । ‘आगलागी हुँदै गर्दा एउटा राजनीतिज्ञले रोक्न जानु मेरो धर्म होइन ?’ उनले भने, ‘मेरो छानबिन नहोस् भनेको होइन, ममाथि पनि छानबिन होस् ।’