२२ बैशाख २०८१, शनिबार
Follow Us

रिलेसनमा छँदा पनि प्रेम प्रस्ताव धेरै आउँछन्

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७६, मंगलवार ०६:१४

रोजी खड्का, सञ्चालक, एफएनएफ फेसन

सानै उमेरमा व्यवसायमा छलाङ मारेकी रोजी खड्काले सञ्चालन गरेको एफएनएफ फेसनबाट झन्डै दुई दर्जनले रोजगारी पाएका छन् । अहिलेको प्रविधि प्रयोग गरेर व्यवसायलाई अगाडि बढाएकी रोजीले यही व्यवसायलाई व्यापक बनाउने उद्देश्य लिएकी छन् । वैवाहिक बन्धनमा बाँधिने तर्खर गरिरहेकी रोजीलाई अहिले पनि विवाहको प्रस्ताव राख्नेहरू प्रशस्त आउने गरेको बताउँछिन् । उनले सञ्चालन गरेको व्यवसाय, त्यसका चुनौती र भावी योजनाबारे रोजीसँग गरेको कुराकानी : 

० आफूलाई कसरी चिनाउनु हुन्छ ?
– म रोजी खड्का हुँ । ललितपुरको महालक्ष्मी नगरपालिकाको डाँडाथोकमा घर छ । एफएनएफ फेसन नामको व्यवसाय सञ्चालन गरेकी छु ।

० एफएनएफ फेसन कस्तो व्यवसाय हो ?
– एफएनएफ फेसनले बंगलादेशबाट आयातित ब्रान्डेड रेडिमेड कपडाको थोक तथा खुद्रा विक्रेताको काम गर्छ । हामीले रातोपुल र न्युरोड गरी दुई ठाउँमा ‘आउटलेट’ राखेर बिक्री वितरणको व्यवस्था मिलाएका छौं । हामीले बिक्री गर्ने कपडा अनलाइनबाट समेत खरिद गर्नसकिने छ । दुईवटा आउटलेटमा गरी अहिले २० जनालाई प्रत्यक्ष रोजगारी दिएका छौं ।

० व्यवसायको चुनौती के छन् ?
– बंगलादेशका कपडामा पहिला त्यति विश्वास थिएन । त्यतिबेला ग्राहकलाई विश्वास दिलाउन धेरै गाह्रो थियो । व्यवसाय चलाउन पनि रिस्क थियो । तर अहिले विस्तारै बंगलादेशमा निर्मित रेडमेड कपडाप्रति ग्राहकको आकर्षण बढ्न थालेको छ । त्यसैले विगतको तुलनामा धेरै सजिलो हुन थालेको छ ।

० अध्ययन र अनुभव के–के छन् ?
– म्यानेजमेन्टमा स्नातकोत्तर हँु । पाँच वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेकी छु ।

० पढेलेखाका महिला चुलोचौका र बेरोजगार भेटिन्छन् नि ?
– त्यस्तो अवस्था छ, महिलाहरू आत्मनिर्भर हुन, आफ्नो योग्यता र क्षमता सदुपयोग गर्न घरको चुलाचौकाबाट बाहिर निस्कनै पर्छ । महिलाहरू आत्मनिर्भर भए महिला हिंसासमेत कम हुनेछ ।

० व्यवसायको क्षेत्रमा नेपाली महिलाको उपस्थिति कस्तो छ ?
– विगतमा महिला व्यवसायीहरू आंैलाले गन्ने अवस्थामा थिए । तर केही वर्षयता हरेक क्षेत्रमा नेपाली महिला व्यवसायीहरूको उपस्थिति उल्लेख्य देख्न सकिन्छ । आगामी दिनमा यो उपस्थिति अझै बढ्ने तथ्य तथ्यांकहरूले देखाएको छ ।

० व्यवसायमा लाग्ने महिलाहरूको अवस्था कस्तो देखिन्छ ?
– देशकाल र परिस्थितिअनुसार हुने सबै किसिमका उतारचढावको सामना महिला व्यवसायीले पनि भोग्दै आएका छन् । व्यवसायमा आउने समस्या व्यवस्थापन गर्न नसक्ने महिला व्यवसायीहरू विस्थापित भएका देखिन्छ भने चुनौती र समस्या सामना गर्नेहरू टिकेर राम्रै प्रगति गरेको पनि देखिन्छ ।

० नेपाली महिलालाई व्यवसाय गर्न कत्तिको सजिलो छ ?
– नेपालमा महिलालाई व्यवसाय गर्ने प्रोत्साहित नीति सरकारले ल्याउन सकेको छैन । पुरुषसरह नीति अवलम्बन गरेर व्यवसाय गर्नुपर्ने भएकाले केही समस्याहरू पक्कै पनि झेल्नुपरिरहेको छ ।

० नेपालमा महिलालाई व्यवसायी बन्ने वातावरण छ ?
– अहिले महिलाहरूले चुनौती मालेर आफ्नै आँटले व्यवसाय सञ्चालन गर्नुपरिरहेको अवस्था छ । रोजगारीमा पनि चित्तबुझ्दो प्राथमिकतामा महिलाहरू पर्न सकिरहेका छैनन् । राज्यले महिलालाई आत्मनिर्भर बनाउने, व्यवसायी बनाएर देशको आर्थिक क्रियाकलाप बढाउने हो भने महिलाहरूलाई प्याकेजमै प्रोत्साहित कार्यक्रम ल्याउनुपर्छ ।

० व्यवसायमा परिवारको सहयोग छ ?
– एकदमै राम्रो साथ सहयोग छ । उहाँहरूको सहयोग र आशीर्वादले म व्यवसायीमा स्थापित भइरहेकी छु । सुरुमा के हो, कसो हो भन्ने हुन्थ्यो । तर अहिले भने व्यवसायमा प्रोत्साहित गर्नुहुन्छ ।

० तपाईको पारिवारिक पृष्ठभूमि बताइदिनोसन् ?
– हाम्रो परिवार मध्यमवर्गीयमा पर्छ । बुवा सामाजिक संघ÷संस्थामा काम गर्नुहुन्थ्यो । अहिले पनि ‘सोसियल वर्कर’ को रूपमै कार्यरत हुनुहुन्छ ।

० विवाह गर्नुभयो ?
– गरेको छैन, तर जीवनसाथीको टुंगो लागिसकेको छ । छिट्टै वैवाहिक बन्धनमा बाँधिने तयारीमा छु ।

० हुनेवाला श्रीमान्का बारे भन्न मिल्छ ?
– उहाँ मलाई एकदमै बुझ्ने, इमान्दार र मेहनेती हुनुहुन्छ । अहिलेलाई त्यति मात्र भनौं ।

० रिलेसनमा बस्दा पनि विवाहका प्रस्ताव आउँछन् ?
– थाहा नहुनेहरूले प्रस्ताव राख्छन् । त्यस्ता प्रशस्तै आउँछन् ।

० घरेलु हिंसाबारे के थाहा छ ?
– पहिला मुलुकमा नारी हिंसा मात्रै हुन्थ्यो, तर अहिले नारीद्वारा पुरुष हिंसा पनि हुन थालेको छ । हिंसा कोही कसैबाट हुनुहुँदैन । यस्ता हिंसा निरुत्साहित गर्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनु पर्छ ।

० सामाजिक क्षेत्रमा पनि योगदान छ ?
– सामाजिक क्षेत्र मेरो रुचिको विषय हो । मैले आफूले देखेको र सकेको योगदान गर्दै आएकी छु । हरेक मान्छे ‘सोसियल’ हुनुपर्छ । र, सकेको सामाजिक काम गर्न सबैलाई अपिल पनि गर्दछु ।

० भविष्यका इच्छा र आकांक्षा ?
– मैले सञ्चालन गर्दै आएको एफएनएफ फेसनलाई देशका प्रमुख सहरहरूमा विस्तार गर्दै एउटा प्रतिष्ठित व्यावसायिक संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य मेरो रहेको छ । राम्रो काम गर्दै राज्य र समाजलाई योगदान पु¥याउने उद्देश्य छ । महिला दिदीबहिनीहरूलाई हरेक क्षेत्रमा प्रोत्साहित गर्न आफ्नो ठाउँबाट सक्दो योगदान पु¥याउने योजना छ ।