१८ बैशाख २०८१, मंगलवार
Follow Us

प्रियंका लन्डनमा

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार ०९:११

बेलायतका व्यवसायीहरुले निर्माण गर्न लागेको हाइ बजेट फिल्म ‘हयाप्पी डेज’का लागि मंगलबार बिहान लन्डन उत्रिएकी छन् नायिका प्रियंका कार्की । फिल्मको नामजस्तै खुशीका दिन शुरु भएर होला, काठमाडौंदेखि नै ज्याँदै उत्साहित थिइन् प्रियंका । हिउँले ढाकिएको सेताम्मे लोकेसनमा फिल्म ‘सुट’ गर्ने आफ्नो सधैंको सपना यसपटक पूरा हुने विश्वास उनलाई छ ।

सिफोन सारी, सुन्दर घमाइलो मौसम अनि सेताम्मे हिउँ, पृष्ठभूमिमा सुमधुर गीत बजिरहेको होस्, प्रियंकाले यस्तै सपना साँचेकी छन् यो पटक बेलायत बसाइमा । तीन महिनाअघि मिस यूके नेपालको प्रमुख कोरियोग्राफर र प्रशिक्षकका रुपमा बेलायत आउँदा उनको जिम्मेवारी बेग्लै थियो । त्यसअघि सांस्कृतिक कार्यक्रममा पनि उनी आएकै हुन् । तर, यसपाला फिल्म कर्मकै लागि करिब डेढ महिना यहाँ बस्दा बेग्लै अनुभूति लिएर फर्कने छिन् उनी । करिब एक करोड ७० लाख रुपैयाँ लगानीमा बनाउन लागिएको ‘हयाप्पी डेज’ टिम छायांकनका लागि ४५ दिन यूके बस्नेछ ।

फिल्म निर्देशक मिलन चाम्स बेलायतको लन्डन, अल्डरसट, फार्नबोरो, स्वीन्डन, स्कटल्याण्ड, वेल्स लगायत सहरमा फिल्म छायांकन गर्ने योजनामा छन् । ‘बरु मौसमले साथ नदेला कि भन्ने चिन्ता छ’, उनले भने, ‘कथाअनुसार गीतमा हिउँकै सिन चाहिने भएकाले डिसेम्बरमा स्कटल्याण्ड जाँदैछौं हामी । बेलायतमा फिल्म सुटिङ
चुनौतीपूर्ण विषय भए पनि सहज रुपमा बढाउने मेरो आत्मविश्वास छ ।’

यसअघि गत ११ नोभेम्बर राती छायांकार रामकुमार केसी, प्रमुख सहायक निर्देशक गिरिराज घिमिरे, सम्पादक अर्जुन जिसी, द्वन्द्व निर्देशक सकुमार बस्नेत, कलाकार सञ्जय गुप्ता, सहायक निर्देशक एवं फोटोग्राफर करुणा गुरुङ र वितरक गोविन्दबहादुर शाहीसहित ७ जनाको ‘क्रु’ पहिलो चरणमा बेलायत उत्रिइसकेको छ भने नायक दयाहाङ राई आउँदो साता बेलायत उत्रनेछन् ।

फिल्म निर्मातामध्ये एकजना वीपी खनाल फिल्ममा कुनै सम्झौता नगरिने बताउँछन् । खनालसहित विक्रम जोशी, नरेश शर्मा, डा. अशोक बन्सल र मिलन चाम्सले फिल्म निर्माणमा लगानी गरेका हुन् । चाम्सबाहेक अरु निर्माता फिल्म लाइन् बाहिरका छन् ।

Ekanitpur