२२ श्रावण २०८३, शुक्रबार
Follow Us

एभरेस्ट राइनोज यूकेद्वारा माया टी–१० क्रिकेट उपाधि जित

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८३, शुक्रबार २१:५२

विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनले दिलायो ऐतिहासिक सफलता

लन्डन — बेलायतमा सम्पन्न माया टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि एभरेस्ट राइनोज यूकेले आफ्नो नाममा दर्ता गरेको छ। फाइनल खेलमा माया क्रिकेट क्लबलाई पराजित गर्दै राइनोजले च्याम्पियन बन्ने गौरव हासिल गरेको हो। आयोजक माया क्रिकेट क्लबले पनि विजेता टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको एभरेस्ट राइनोजले निर्धारित ओभरमा ८८ रनको योगफल तयार पारेको थियो। जवाफमा उत्रिएको माया क्रिकेट क्लबले खेल अवरुद्ध हुनु अघि ५ विकेट गुमाएर ४४ रन मात्र बनाउन सकेको थियो। अपर्याप्त प्रकाशका कारण खेल पूर्णरूपमा सञ्चालन हुन नसकेपछि डीएलएस (डकवर्थ–लुइस–स्टर्न) विधिका आधारमा एभरेस्ट राइनोजलाई विजेता घोषित गरिएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताभर नेपाली राष्ट्रिय टोलीका अनुभवी विकेटकिपर–ब्याट्सम्यान विनोद भण्डारी उत्कृष्ट लयमा देखिए। उनले चार खेलमा लगातार चार अर्धशतक प्रहार गर्दै टोलीको उपाधि यात्रामा निर्णायक योगदान पुर्‍याए। उत्कृष्ट प्रदर्शनकै आधारमा भण्डारी ‘म्यान अफ द टुर्नामेन्ट’, फाइनल खेलको ‘म्यान अफ द म्याच’ र ‘बेस्ट ब्याट्सम्यान’ गरी तीन विधामा सम्मानित भए।

एभरेस्ट राइनोजको टोलीमा भण्डारीसँगै इशान पाण्डे, वंश क्षेत्री र शोएल कुँवर लगायतका खेलाडीको सहभागिता रहेको थियो। साथै, पोर्चुगलका राष्ट्रिय खेलाडी मधुकर थापाले पनि टोलीलाई सशक्त बनाएका थिए।

उता, माया क्रिकेट क्लबमा अर्जुन साउद, रिजान ढकाल, प्रकाश बिष्ट, भीम सार्की र गुलशन झा जस्ता नेपाली क्रिकेटसँग सम्बन्धित खेलाडीको उपस्थिति थियो।

यस संस्करणको माया टी–१० प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता बेलायतस्थित वेकम्ब हाउस क्रिकेट क्लबमा आयोजना गरिएको थियो, जसमा पोर्चुगलको दियालो रेष्टुरेन्टको समेत सहकार्य रहेको थियो।

धेरै पढिएको