२७ बैशाख २०८१, बिहीबार
Follow Us

विकल्पसहित समीकरण तयार, प्रचण्ड सरकार ढल्ने

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७३, बिहीबार १२:३९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा रहेको सरकार ढल्ने चर्चासँगै नेपाली राजनीतिले नयाँ मोड लिन थालेको छ । संविधान संशोधनमा गति लिन नसकेको मात्र होइन, सय दिनसम्म सिन्को भाँच्न नसकेको आरोपसहित प्रचण्ड नेतृत्वको सरकार ढल्ने चर्चा नेपाली राजनीतिकवृत्तमा चलेको हो । यो चर्चासँगै प्रधानमन्त्री दाहालले सत्ता सहयात्री नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद बाक्लो बनाएका छन् ।
मधेशीको मुद्दा संविधान संशोधनमार्फत् सम्बोधन गर्ने प्रतिबद्धतासँगै दाहाल सरकार गठन भएको थियो । तर प्रधानमन्त्री दाहालले संविधान संशोधन र त्यही बीचमा आएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बचाउन दह्रोसँग खुट्टा नटेकेपछि सरकार परिवर्तनको चर्चाले व्यापकता पाएको बुझाइ नेपाली राजनीतिक विश्लेषकहरुको छ ।
सरकार परिवर्तनका लागि तीनवटा विकल्प अघि सारिएको स्रोतको भनाइ छ । पहिलो विकल्पमा संविधान संशोधनका लागि सहज बनाउन कांग्रेस एमालेको सरकार, दोश्रोमा एमाले र माओवादीसहित केही मधेशी दलहरुको सरकार तथा एमाले र माओवादीबाहेक कांग्रेसले राप्रपालगायत मधेशी दलसँग मिलेर सरकार बनाउन सक्ने छन् ।
संविधान संशोधनमा माओवादी लचिलो भएकाले पहिलो विकल्पका रुपमा पुनः एमाले र कांगे्रसको सरकार बन्न सक्ने जानकारहरु बताउँछन् । जसले गर्दा संविधान संशोधन भएपछि कार्यान्वयनमा पनि सहज होस् भन्ने उद्देश्यले माओवादीलाई प्रतिपक्षमा राखेर कांगे्रस एमालेको सरकार बन्ने सम्भावना बलियो रहेको बताइन्छ । संविधान संशोधनमा कांगे्रस लचक भएकाले पहिलो विकल्प सम्भव नभए दोश्रो विकल्प उपयोग गरेर नयाँ सरकार बन्ने सम्भावना औंल्याइएको छ ।
वामपन्थीबाहेक पनि कांगे्रसको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना त्यत्तिकै छ । एमाले र माओवादीलाई बाहिर राखेर सरकार त बन्छ, तर संविधान संशोधन नहुने भएकाले तेश्रो विकल्पमा सरकार बनाउँदा ‘शक्तिकेन्द्र’ को उद्देश्य पूरा हुने छैन ।
संसदमा अहिले ५ सय ९३ मध्ये सरकार बनाउनका लागि २ सय ९७ सांसद पुग्नुपर्छ । कांग्रेसको २ सय ७, एकिकृत राप्रपाको ३७, मधेशी मोर्चा ४२, फोरम लोकतान्त्रिक १४ गरी ३ सय मत पुग्ने देखिन्छ । अझ यसमा साना दल थपिने संभावना उत्तिकै छ ।
संविधान संशोधन नभइ निर्वाचन सम्भवन छैन । निर्वाचन गराउन भन्दै प्रधानमन्त्री दाहाल सत्ता रहिरन आलटाल गर्ने सम्भावना पनि त्यत्तिकै छ । त्यो सम्भावनालाई तुरुपका रुपमा तेश्रो विकल्प तयार गरिएको एकथरिको बुझाइ छ । यो तुरुप बलियो बनाउनकै लागि दुई राप्रपालाई एक बनाइएको बताउनेहरुको पनि कमी छैन ।
– सुनयना राउत