काठमाडौं । बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा १६ सांसदको हस्ताक्षर गरेका छन् । बुधवार १६ सांसदको हस्ताक्षरसहित संसदीय दलको कार्यालय, हेटौँडामा अविश्वासको प्रस्ताव दर्ता भएको बताइएको छ ।
थपलियाविरुद्धको अविश्वासको प्रस्तावमा चितवनकै दुई सांसदले समेत हस्ताक्षर गरेको स्रोतको दाबी छ । चितवन १ (१) बाट निर्वाचित थपलियालाई चितवन २ (१) बाट निर्वाचित सांसद कृष्णप्रसाद सिलवाल र चितवनबाटै समानुपातिक सांसद हरिप्रसाद सापकोटाले समेत अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै अविश्वासको प्रस्तावको पक्षमा सांसदहरू किरण थापा, प्रेमभक्त महर्जन, रघुनाथ महर्जन, भारती पाठक, आनन्दकुमार श्रेष्ठ, जयराम थापा, डा. दिनेशचन्द्र देवकोटा, बिन्दु श्रेष्ठ, भरत केसी, माइली तामाङ, माया कुमारी कार्की, रामेश्वर श्रेष्ठ, सकुन्तला श्रेष्ठ र ज्ञानबहादुर तामाङले हस्ताक्षर गरेका छन् । १८ जनाले अविश्वास जनाएको भनी दाबी गरे पनि पत्रमा भने १६ सांसदले मात्रै हस्ताक्षर गरेको एक नेताले बताएका छन् ।
उपसभामुख अप्सरा चापागाईँ र सांसद मधुसूदन पौडेलले पनि सहमति जनाएको किरण थापा निकट नेताको दाबी छ । यद्यपि दुवै जनाले पत्रमा हस्ताक्षर भने गरेका छैनन् ।बागमती प्रदेश सभामा नेकपा एमालेका २५ सांसद छन्, जसमा १६ जना किरण थापा पक्षमा उभिएको देखिन्छ भने बाँकी ९ जना जगन्नाथ थपलियाको पक्षमा देखिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेत निकटका थापालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने तयारीस्वरुप वर्तमान दलका नेता थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।