१६ बैशाख २०८१, आईतवार
Follow Us

स्नेहा दोस्रो पुस्ताकी पहिलो नेपाली ब्यारेष्टर

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७६, आईतवार १०:५७

लन्डन । स्नेहा शाक्य श्रेष्ठ बेलायतमा दोस्रो पुस्ताकी पहिलो ब्यारेष्टर बन्नको लागि भर्खरै बेलायतको इनर टेम्पल बारको सदश्य भएकी छिन्। उनि यसै बर्ष सिटी ल स्कूलबाट प्रोफेसनल ट्रेनिङ्ग कोर्स (बिपीटिसी) मा उच्च अंक (८०.४० %) प्राप्त गरि ब्यारेष्टर बन्न अन्तिम तयारी पुपिलेज गर्न योग्य भएकी छिन । अब केहि समय अन्य कानुनी फर्ममा कामको अनुभब प्राप्त गरि सके पछि उनि आफै प्रक्टिसिङ्ग ब्यारेष्टर बन्नेछिन । यस अगाडी प्रोफेसर डाक्टर सुर्य सुबेदी क्यु सी तथा देबेन्द्र श्रेष्ठ बेलायतमा ब्यारेष्टरको रुपमा कार्यरत छन् ।

स्नेहा, चौतारा सिन्धुपाल्चोक स्थायी घर भएका पिता अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ र बाग्लुग मूल थलो भएकी आमा मिनु शाक्यसँगै करीव दुइ दशक पहिले बेलायत आएकी थिइन् । उनले कक्षा दुइ सम्मको शिक्षा नेपालमै हासील गरेर बाँकी अध्ययन बेलायतमा गरेकी थिइन् ।

स्नेहाले विद्यालय शिक्षा वर्दिग र स्लाओ ग्रामर तथा उच्च शिक्षा युनिभर्सिटी अफ एसेक्सबाट एलएलबि, किंग्स कलेजबाट एलएलएम उतिर्ण गरेकि छिन । लण्डनस्थित प्रसिद्ध किंग्स कलेजको एलएलएमको शोधका निम्ती नेपालमा निकै चर्चा पाएको कर्णेल कुमार लामाको विषयमा अनुसंधान गर्न लामो समय नेपालका विभिन्न स्थानमा गएर सरोकारवाला र विज्ञहरुसँग कुराकानी गरेकी थिइन् ।

बेलायतमा कानुनी पेशालाई सम्मानीत पेशाकारुपमा लिइन्छ । सो कक्षा तयारीका लागी चाहिने लगन र मेहनतका कारण पनि कानुनी पेशाको कदर अन्य मुलुकहरुका तुलनामा बेलायतमा धेरै नै गर्व गर्ने बिषयका रुपमा लिइन्छ । संसारको न्याय इतिहासको उद्गमस्थल भएको स्थान म्याग्नाकार्टाको सेरोफेरोमा रहेर विद्यार्थी जीवन बिताउन पाउनु र माता पिताको प्रेरणाका कारण पनि स्नेहालाई कानूनीक्षेत्रमा आउने अवसर प्रदान गरेको थियो ।

बेलायतमा पनि नेपाली कानुन ब्यबसायीहरुको उल्लेख्य उपस्थिति रहेको छ । ब्रिटेन नेपाल लयर्स एशोशियशनको पहल कदमीमा नेपालीहरुले पनि अन्य कमन वेल्थ देशका कानुन व्यवसायिहरुले जस्तै बारको परिक्षा दिन सक्ने भएका छन । बेलायतमै शिक्षा प्राप्त गरेका नया पुस्ताका युवाहरु पनि बिस्तारै कानुन विषयमा संलग्नता हुनु खुशीको बिषय हो ।

सानै उमेरदेखि नै संगित कलामा रुची भएकी स्नेहाले डरिग्टन हाइ स्कुल एक्स फ्याक्टरमा पहिलो स्थान, सन् २००८ मा लण्डनमा आयोजना भएको भ्वाइस अफ द एर नेपालमा पहिलो, युकेको एक्स फ्याक्टर लगायत दर्जनौ नेपाली अंग्रेजी तथा भारतीय सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रतिभा देखाउदै आएकी छिन। उनले संगीतकार अनिल शाही र न्ह्यु बज्राचार्यसंग चारवटा गीतहरु रेकर्ड गरायकी छिन ।
भविष्यमा पनि पेशाका साथसाथै रुचिको रुपमा गायनलाई पनि अगाडी बढाउनु पर्छ भन्ने धारणा स्नेहाको छ ।