२६ बैशाख २०८१, बुधबार
Follow Us

प्रदेश ५ को नाम ‘लुम्बिनी’ सिफारिस

नेपालब्रिटेन संवाददाता
३ पुष २०७६, बिहीबार ०४:४१

रुपन्देही । प्रदेश ५ को संसदीय विषेश समितिले प्रदेशको नाम ‘लुम्बिनी’ सिफारिस गरेको छ । राजधानीका लागि ३ जिल्लाका ६ ठाउँ प्रस्ताव गरेको छ । समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगंगा र बुद्ध भूमी तथा दाङको भालुवाङ र लमहीलाई प्रस्ताव गरेको छ ।

प्रदेश ५ को नाम र राजधानी तोक्ने विषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभाको बैठकले २०७५ साउनमा संसदीय विशेष समिति गठन गरेको थियो । पहिलो पटक ३ महिना कार्यादेश दिइएको उक्त समितिले पहिलो ३ महिना बैठक नै बस्न नसकी म्याद गुजारेको थियो ।

समितिले पहिलो कार्यदेश भित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरी जिम्मेवारी दिइएको थियो । तोकिएको जिम्मेवारी छोडेर भारतको हरियाणा र पन्जावको राजधानी भ्रमणमा गएको भन्दै चौतर्फी आलोचना भएका बेला समितिले नाम र राजधानी सिफारिसको टुंगो लगाएको छ ।

समितिले गरेको सिफारिसलाई प्रदेश सभाको बैठकको दुई तिहाइले पारित गर्नुपर्ने प्रावधान छ । तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा समितिले आज आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।