२५ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली नागरिकताको निरन्तरता बारे सुझाव संकलन गर्दै एनआरएन युके

नेपालब्रिटेन डट कम्
१५ पुष २०७६, मंगलवार १६:०५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकताको निरन्तरताका सम्वन्धमा वेलायतस्थित नेपाली समुदायतसंग सुझाव संकलन गर्ने भएको छ ।
गैर आवासीय नेपाली संघ बेलायत र गैर आवासीय नेपाली संघ यूके, इंगल्याण्ड राज्य समितीको व्यवस्थापनमा आगामी जनवरी ५ तारिख बेलायत अल्डरसटमा नागरिकताको विषयमा एक अन्तरक्रियामा सहभागी भएर सुझाव दिन सकिने संघले जनाएको छ ।

संघको तर्फवाट अध्यक्ष पुनम गुरुगं र महासचिव फडिन्द्र भट्टराईले मंगलवार एक विज्ञप्ति जारी गर्दै जनअपेक्षा अनुरुप राय सुझाव संकलन गरिन लागिएको जनाएका छन् ।

विज्ञप्तिको पूर्णपाठ

गैरआवासीय नेपाली संघ आफ्नो स्थापना काल देखी प्रवासमा रहेका नेपालीहरुको हक हित र आपसी सद्भावको लागि कृयाशील रहदै आएको कुरा सर्वविदितै छ । गैर आवासीय नेपाली संघले निकै महत्वका साथ उठाउदै आईरहेको नागरिकता निरन्तरताको मुद्दामा नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने प्रावधानको व्यवस्था गरे अनुरुप अहिले त्यस सम्बन्धमा बन्ने कानुनहरुलाई अन्तिम रुप दिने तयारी भईरहेको छ ।

यसै सन्दर्भ गैर आवासीय नेपाली संघले अब बन्ने कानुनमा गैर आवासीय नेपाली संघको हितमा रहने गरी के कस्ता प्रावधानहरु राख्न सकिन्छ भन्ने वारेमा सुझाव संकलन गर्दै आईरहेको छ ।
गैर आवासीय नेपाली संघ बेलायतले पनि यो सवालमा एनआरएन आईसीसीसंग समन्वय गर्दै नेपाल सरकारका बिभिन्न निकायहरुमा निरन्तर दवाव सृजना गर्दै आईरहेको छ ।
गैर आवासीय नेपाली संघ बेलायतको तत्वावधान र गैर आवासीय नेपाली संघ यूके, इंगल्याण्ड राज्य समितीको व्यवस्थापनमा आगामी जनवारी ५ तारिख बेलायत अल्डरसटमा नागरिकताको विषयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ ।
गैर आवासीय नेपाली संघ बेलायतको विगत निर्णय अनुरुप राष्ट्रिय समन्वय परिषद मातहतका राज्य परिषदहरुलाई आआफ्नो क्षेत्रका आम जनसमुदायसंग एनआरएन प्रतिको जन अपेक्षा सम्बन्धमा राय सुझाव संकलनको लागि निर्देशन गरिसकेको सन्दर्भमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।

यसर्थ बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई उक्त कार्यक्रममा सहभागिता जनाएर यो सम्बन्धमा आफ्नो चासो, सरोकार र राय सल्लाह प्रदान गर्नु हुन् सादर अनुरोध गर्दछौ ।
उक्त कार्यक्रममा एनआरएन आईसीसी महासचिव डा. हेमराज शर्मा लगायतका वक्ताहरुले नागरिकता सम्बन्धी वर्तमान अवस्थाको जानकारी समेत गराउनु हुने व्यहोरा समेत उल्लेख गर्न चाहन्छौ । राज्य परिषद मार्फत तपाईहरु बाट प्राप्त सुझावहरुलाई दस्तावेजको रुपमा उतारेर आईसीसीसंग समन्वय गर्दै नेपाल सरकारको सम्बन्धित निकायमा प्रस्तुत गर्ने प्रतिवद्दता समेत व्यक्त गर्दछौ ।
नागरिकता जस्तो अत्यन्तै महत्वपूर्ण र दुरगामी सवालमा यसको तार्किक निष्कर्षमा नपुगुन्जेल सम्म हामी ब्यापक छलफल र तयारी पूर्वक लाग्नु पर्ने भएकोले यस्ता कार्यक्रममा तपाईहरुको अमुल्य सहभागिताको अपेक्षा गर्दछौ ।