१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपाको आजको बैठकले केन्द्रीय समितिको बैठक सार्ने र सभामुख टुंगो लगाउने

नेपालब्रिटेन संवाददाता
२० पुष २०७६, आईतवार ०४:१६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सार्ने र सभामुख टुंगो लगाउने एजेन्डामा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक बिहान सुरु भएको हो । बैठकमा केन्द्रीय कमिटीको बैठक सार्ने तयारी र सभामुख चयन प्रमुख एजेन्डा रहेको एक सचिवालय सदस्यले नेपाल ब्रिटेन डट कमलाई जानकारी दिए ।

आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपर्ने देखिएकाले सोही विषयमा छलफल गर्न बैठक सुरु भएको बताइएको छ ।

गत पुस ६ गते सकिएको स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, राष्ट्रिय अभियानको योजना र समसामयिक प्रस्तावलगायतका कार्यसूची तय गरेर केन्द्रीय सदस्यहरूलाई अन्तरपार्टी निर्देशनसमेत पठाइसकिएको थियो ।

यता, रिक्त रहेको प्रतिनिधि सभाका सभामुख पदका विषयमा समेत पार्टी अनिर्णित रहँदा संसदीय गतिरोध कायमै छ । सो गतिरोध हटाउनका लागि सभामुख उम्मेदवार टुंगो लगाउने विषयमा पनि आजको बैठकलाई महत्वपूर्ण मानिएको छ । सभामुखमा सुवास नेम्वाड को नाममा अध्यक्षद्वयबीच सहमति भइसेको बताइन्छ । त्यही सहमतिलाई आजको बैठकले औपचारिकता दिने बुझिएको छ ।