२९ बैशाख २०८१, शनिबार
Follow Us

दोश्रो पुस्तालाई जोड्न एनआरएनमा छुट्टै संरचना बन्ने

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७६, आईतवार १९:३७

कुवेत दुर्घटनामा ज्यान गुमाउनेका आफन्तलाई १–१ लाख सहयोग

काठमाडौँ। कुवेतको निर्माणस्थलमा दुर्घटना हुँदा मृत्यु भएका ६ जना तथा सोही दुर्घटनमा घाइते भएका अन्य २ जना नेपाली युवाका परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक–एक लाखका दरले आर्थिक सहयोग गर्ने भएको छ।

संघका केन्द्रीय उपाध्यक्ष तथा एनआरएनए वैदेशिक रोजगार विभागका सभापति डा. बद्री केसीले कुवेत दुर्घटनाका पीडित परिवारलाई एक–एक लाखका दरले आर्थिक सहयोग गर्न लागिएको जानकारी दिए ।

सहयोग गर्नेहरुमा संघका अध्यक्ष कुमार पन्त १ लाख, उपाध्यक्षहरु डा. बद्रि केसी, अर्जुन श्रेष्ठ, सोनाम लामाले १–१ लाख, कोषाध्यक्ष महेश श्रेष्ठ १ लाख, सचिवहरु गौरी जोशी १ लाख, आरके शर्मा ५० हजार, र सहकोषाध्यक्ष लोक दाहाल ५० हजार रहेका छन्।

गएको फेब्रुअरी १२ तारिख बुधवार कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू दुर्घटनामा परेका थिए।

दुर्घटनामा ६ जना नेपालीले ज्यान गुमाउनुका साथै २ जना घाइते भएका थिए। दुर्घटनामा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, दाङका श्यामनारायण चौधरी, रोल्पाका राजु रोका मगर र नवलपरासीका पूर्णबहादुर सुनसरी मगरले ज्यान गुमाएका थिए।

यसै बीच गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठकले दोश्रो पुस्ता का एनआरएनहरुलाई नेपालसंग जोड्न छुटै समिति बनाउने निर्णय गरेको छ । प्रवक्ता डिबि क्षेत्रीद्वारा जारी बिज्ञप्ति अनुसार गैरआवासीय नेपालीहरुलाई आफू बसेको मुलुकमा समेत राजनैतिक र सांस्कृतिक रुपमा सक्रिय बनाउन बैठकले एक वेग्लै समिति बनाउने निर्णय गरेको हो ।


फेब्रुवरी २९, २०२० शनिवारको दिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठकका निर्णयहरु

फेब्रुवरी २९, २०२० शनिवारको दिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठक निम्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

१. बैठकले कुवेतमा काम गर्दा गर्दै बालुवाले पुरिएर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जिलि व्यक्त गरेको छ । साथै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ । बैठकले मृतकहरु र घाईतेहरुको उचित क्षतिपूर्ती दिलाउनका साथै मृतकका शब यथाशिघ्र नेपाल पठाउनको लागि पहल गर्न नेपाल सरकार संग माग गरेको छ । दुर्घटनामा परि मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही रु। १ लाख प्रदान गर्ने निर्णय बैठकमा गरिएको छ ।

२. संघको केन्द्रिय कार्यालय रहेको बालुवाटारको घरजग्गा सम्बन्धि विवाद मिलाउन कानुनी लगायत अन्य पहल भईरहेको र विश्वभरीका एनआरएनए सदस्यहरुको सहयोग तथा लगानी खेर जान नदिन आवश्यक छलफल र पहल भईरहेको जानकारी बैठकमा गराईएको थियो । यस सम्बन्धमा अध्ययन गर्न बनेको समितिलाई सकेसम्म छिटो अध्ययन प्रतिवेदन पेश गर्न बैठकले अनुरोध गरेको छ ।

३. यस कार्यकालका लागि गठन हुने विभिन्न समितिहरुलाई १५ दिन भित्र पुर्णता दिने निर्णय बैठकले गरेको छ ।

४. गोरखा जिल्लाको भिमसेन थापा गाउंपालिका वडा नम्वर ५ बगुवामा बन्दै गरेको एकीकृत मिलन नमूना वस्तीलाई गैरआवासीय नेपाली संघले करीव ३० लाख बराबरको जस्तापाता उपलब्ध गराएकोमा नमूना वस्तीको निर्माण कार्य अघि बढ्न लागेकोमा बैठकले खुशी जाहेर गरेको छ ।
५. दोश्रो पुस्ता (Second Generation) का एनआरएनहरुलाई नेपालसंग जोड्न र उनीहरुलाई सामाजिक तथा सांस्कृतिक रुपमा आबद्ध राखी मातृभूमी प्रति जिम्मेवारी बोध गराउन सो सम्बन्धी एउटा छुट्टै समिति बनाउने र गैरआवासीय नेपालीहरुलाई आफू बसेको मुलुकमा समेत राजनैतिक र सांस्कृतिक रुपमा सक्रिय बनाउन बैठकले एक वेग्लै समिति बनाउने निर्णय पनि गरेको छ ।

६. नेपालका दुर्गम वस्तीका छात्राहरुको शौचालय निर्माणको सहयोगको लागि मार्च ८ तारिखका दिन काठमाडौंमा गर्न लागिएको च्यारिटि डिनर कार्यक्रममा सहयोग गर्न सबै एनसिसिहरुलाई बैठकले अनुरोध गरेको छ ।

७. विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसबाट बच्न उच्च शतर्कता अपनाउन सबैलाई अपिल समेत बैठकले गरेको छ ।

डिबि क्षेत्री
प्रवक्ता
आइसिसि एनआरएनए
मिति : १ मार्च २०२०