३० बैशाख २०८१, आईतवार
Follow Us

किरात राई यायोक्खा बेलायतभित्र तीव्र विवाद

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७६, मंगलवार २१:२५

लन्डन । किरात राई यायोक्खा बेलायतको आन्तरिक विवाद सतहमा आएको छ । संस्थाभित्र तीव्र विवादका कारण आउंदो २४ देखि २६ मे, २०२० सम्म बेलायतमा हुने भनिएको किरात राईहरुको तीन दिने �अन्तर्राष्ट्रिय सम्मेलन अन्यौलमा छ ।

‘किरात राई तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा आयोजना गर्ने गरी ब्यवस्थापकीय जिम्मेवारी लिएको संस्था किरात राई यायोक्खा बेलायत संकटग्रस्त अवस्थामा छ । यस्तो अवस्थाबीच सम्मेलन ब्यवस्थापन गर्न सकिंदैन्, असम्भव छ र यदि कुनै समूहले गरे पनि असफल वा त्यसको औचित्य नहुने स्पष्ट पार्न चाहन्छौं’- शनिबार अल्डरसटमा आयोजित पत्रकार सम्मेलनमा कार्यवहाक अध्यक्ष चन्द्रबहादुर राईले भने, ‘यो संस्था पहिलेकै अवस्थामा नफर्किएसम्म, पुनस्थापना नभएसम्म सम्मेलन अनिश्चितकालसम्मका लागि स्थगित गर्न वा अन्यत्रै गर्न किरात राई यायोक्खा केन्द्र नेपाललाई यसै पत्रकार सम्मेलनमार्फत हार्दिक अनुरोध गर्दछौं ।’

गत ७ सप्टेम्बर २०१८ मा सम्पन्न किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको सातौं सम्मेलनले अन्तर्राष्ट्रिय सम्मेलन गर्न जनादेश नदिएको कार्यसमितिको दावी छ । ‘उक्त सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भएपछि कल्पना राईले एकपछि अर्को गरि सम्पूर्ण किरात राईहरु र संस्थाको हित विपरित निर्णय गर्दै गएको, वहुमत कार्यसमितिको अनुमोदनलाई नटेरेको, मनपरी ढंगले पदाधिकारी मनोनयन र हैकम लागू गर्दै गएपछि उहां अहिले निलम्बित हुनुहुन्छ’- कार्यवहाक अध्यक्ष राईले भने ।

अध्यक्ष राईविरुद्ध संस्थाको विधानको धारा २२ बमोजिम एक तिहाइ सदस्यहरुले अविश्वास प्रस्ताव पेश गरि ७ डिसेम्बरदेखि तीन महिनासम्म निलम्बन गरेको कार्यवहाक अध्यक्ष राईले जनाए । ‘विधानतः ७ मार्चभित्र उहांले स्पष्टीकरण दिनुपर्नेछ । यदि त्यो समयसीमाभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए विधान अनुसार साधारणसभा बोलाइने र त्यो अधिवेशनमा दुई तिहाइ मत ल्याए उहां अध्यक्ष यतावत हुनुहुनेछ नत्र पदच्यूत हुने वैधानिक प्रावधान छ’, राईले थपे ।

संस्थाकी महासचिव चन्द्रवती राईले गत २१ सेप्टेम्बर यताको सबै निर्णयहरु बदर गर्नुपर्ने र सामूहिक जग्गामा रहेका भौतिक संरचना अन्यत्र व्यवस्थापन सार्नुपर्ने आफूहरुको माग रहेको प्रष्ट्याइन् ।

संस्थाका प्रमुख सल्लाहकार पदम राईले विवादबीच बलजफ्ती सम्मेलन गर्न लागिएको र आन्तरिक झगडा किरात राई यायोक्खा केन्द्र नेपाललाई अवगत गराउंदा पनि वेवास्ता गरेकाले खवरदारी गर्न पत्रकार सम्मेलन गर्नुपरेको बताए । स्पष्टीकरणसहित वहुमत सदस्यहरुको हस्ताक्षर जुटाए कल्पना राईलाई अध्यक्ष मानिने नत्र अर्को वैधानिक विकल्प खोजिने उनको धारणा थियो ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष जितेन्द्र साम्पांगले विवाद समाधान नगरि बलजफ्ती सम्मेलन गर्न खोजिए परिणाम नराम्रो हुने चेतावनी दिंदै सम्मेलनमा आउने भनिएका अतिथीहरुको सत्कारमा समेत कमी हुने बताए ।

उपमहासचिव प्रमिला राईले घरभित्रको झगडा मिलाएमात्र सम्मेलन सफल हुने नत्र त्यो औचित्यहीन हुने जनाइन् ।

कार्यक्रममा उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राई, सचिव अनिता राई, सहकोषाध्यक्ष डा. महा राई, गंगाराज राई, भीम राई, मिलनचन्द्र राई, रोजी राई, विनोद राई लगायतको उपस्थिति थियो ।

संस्थामा कार्यवहाक अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्षहरु सुमनचन्द्र राई, जितेन्द्र साम्पांग राई, निलम राई, मेजर रिटायर्ड दिलकुमार राई, महासचिव चन्द्रवती राई, उपमहासचिवहरु प्रमिला लाबुंग राई र सनवीर राई, सचिव अनिता राई, सहकोषाध्यक्ष डा. महा राई र सावित्री राई, सदस्यहरु राजेन्द्र राई, विनोद राई, गंगाराज राई, भीम राई, सन्देश राई, मिलनचन्द्र राई र रोजी राई, भिमल राईको समूह एकतिर छन् भने अध्यक्ष कल्पना राई केही पदाधिकारीसहित अल्पमतमा छिन् ।