२९ बैशाख २०८१, शनिबार
Follow Us

अष्ट्रेलियाको समुन्द्रमा डुबेर एक नेपालीको निधन

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७६, मंगलवार ०५:१९

सिड्नी । समुद्रमा डुबेर अष्ट्रेलियामा फेरि एक नेपाली युवाको ज्यान गएको छ । बुधबार ब्रिसबेन नजिकैको स्ट्राटब्रुक आईल्याण्ड नजिकै समुद्र किनरमा पौडी खेल्ने क्रममा डुबेर पोखराका निकित श्रेष्ठको निधन भएको हो । निकित फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत थिए। उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा गएको थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्विन्सल्याण्ड राज्य समितिका अध्यक्ष उमेश खड्काले निकितको निधनले दुखी र मर्माहत भएको बताएका छन्। ‘पटक पटक यस्तै दुखका खबर सुनाउन नपरे हुन्थ्यो लाग्छ । तर, निर्दयी कालले हाम्रा होनहार युवाहरुको जीवन पानीमै समाप्त पारेको घटना बिगतमा जस्तै यसपटक पनि हामीले सुन्नु पर्‍यो,’ उनले भने ।

श्रेष्ठका अनुसार अहिले मृतक श्रेष्ठको शवलाई प्रहरीले घटनास्थल नजिकै राखेको छ। घटनाबारे बुधवार साँझ खबर आएको भए पनि बिहिवार बिहान मात्रै एनआरएनए क्विन्सल्याण्ड राज्य समितिले क्यानबेरास्थित नेपाली राजदूतावास तथा एनआरएनए एनसीसी अष्ट्रेलियालगायतका निकायमा खबर गरिसकिएको श्रेष्ठले जानकारी गराए ।

श्रेष्ठको शवलाई शुक्रबार बिहान ब्रिसबेन ल्याइने उनले बताए। उनको शवलाई नेपाल पठाउने प्रक्रिया पूरा हुन अरु १० दिन जति लाग्ने उनको भनाइ छ । २०२० मा मात्रै अष्ट्रेलियामा ५ जना नेपालीले समुन्द्रमा डुवेर ज्यान गुमाएका छन् । जनवरीकै शुरुवातमा पौडी खेल्ने क्रममा डुबेर सिड्नीको उत्तरमा रहेको बेरोरा वाटर्स क्षेत्रमा चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुलीको डुबेर ज्यान गएको थियो।

त्यस्तै जनवरीको पहिलो सातामै अष्ट्रेलियाको अरेन्ज सहरमा अर्का एक नेपालीको युवाको पनि डुबेर मृत्यु भएको थियो। अरेन्ज सहरमा नेपाली युवा रूपेन तामाङको तलाउमा डुबेर मृत्यु भएको थियो । त्यसैगरि फेब्रुअरीमा ३२ वर्षीय नेपाली युवा अमित सोनार समुन्द्री तटमा मृत अवस्थामा फेला परेका थिए।