२८ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाविरुद्ध लड्न चीनिया विशेषज्ञ टोली इटालीमा

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७६, बुधबार १२:२४

चीनले बुधबार महामारीविरुद्ध लड्न इटालीमा एक विशेषज्ञको टोली पठाएको छ । इटालीलाई सहयोग पुर्याउन चिकित्सा टोली पठाएको हो ।

रेडक्रस सोसाइटी चीनका उपाध्याक्ष र चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एक विशेषज्ञको नेतृत्वमा टोली इटाली गएको हो । सिचुआन प्रान्तका अन्य पाँच विशेषज्ञहरु पनि यो टोलीमा छन् ।

चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश इटाली हो । यहाँ १० हजारभन्दा बढी मानिसमा संक्रमण देखिइसकेको छ भने ६ सय ३१ को मृत्यु भइसकेको छ ।

मंगलबारमात्रै १ सय ६८ जनाको मृत्यु भएको इटालीका अधिकारीले जनाएका छन् । अहिलेसम्म १ हजार ४ जना मानिसहरु संक्रमणबाट निको भइसकेका छन् । मंगलबारसम्म इटालीका धेरै सहर बन्द भएका छन् । रोमका केही रेस्टुरेन्ट र बारहरु खुले पनि त्यहाँ थोरै संख्यामा मात्र पर्यटकहरु देखिन्थे ।

प्रधानमन्त्री ग्युसेप कोन्टले नागरिकहरुलाई घरमै बस्न आग्रह गरेका छन् । व्यायामशाला, सिनेमाघर, स्विमिङ पुल र विद्यालयहरु बन्द गरिएका छन् भने देशभर हुने खेलकुद प्रतियोगिता रोकिएका छन् तर सार्वजनिक यातायात भने बन्द गरिएको छैन ।

इटालीका आपतकालीन आयुक्त एन्गेलो बोरेलीका अनुसार कोरोना भाइरसबाट धेरै उमेर समूहका मानिसका लागि घातक देखिएको छ । अहिले मृत्यु भएका धेरैजसो मानिसमा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको थियो ।

जसमा ७७ प्रतिशत मृत्यु ७० देखि ८९ वर्षसम्मका छन्, १० प्रतिशत मानिस ५० देखि ६९ सम्मका रहेका छन् भने बाँकी ९० वर्षभन्दा माथिका रहेका छन् ।