३१ बैशाख २०८१, सोमबार
Follow Us

रमेश खरेलको नेतृत्वमा भ्रष्टाचारविरूद्ध अभियान घोषणा

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७६, बिहीबार १०:०६

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले भ्रष्टाचारविरूद्ध सुशासन अभियान घोषणा गरेका छन् । आज काठमाडौंमा कार्यक्रम गरेर खरेल नेतृत्वको समूहले देशमा भ्रष्टाचार अन्त्यका लागि देशव्यापी नागरिक खबरदारी गर्न अभियान घोषणा गरेका हुन् ।

अभियान अन्तर्गत देशैभर नागरिक अधिकार र नागरिकका स्वतन्त्रता तथा समानताका हकको प्रत्याभुतिका लागि जागरण अभियान सञ्चालन गरिने संयोजक खरेलले बताए । नातावाद र कृपावादको भूमरीमा फसेको मुलकको उद्धार गर्न र भ्रष्टाचारको जालो तोड्न लडाई सुरु भएको उनले बताए ।

उक्त अभियानको नाम ‘हाम्रो नेपाल सुशासन अभियान’ दिइएको छ भने नारा सुशासनका लागि भ्रष्टाचारको विरोध गरौं भन्ने छ । अभियानको संयोजक खरेल छन भने देवेन्द्रप्रसाद सिटौला, नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठलगायत पनि अभियानमा जोडिएका छन् ।

अभियानको अवधारणा पत्रमा उल्लेख भए अनुसार नागरिकहरुले तिरेको करमाथि भ्रष्टाचार र दुरुपयोग बिरुद्द जिल्ला–जिल्लामा सचेतना अभियान चलाइनेछ । खरेलले २०७४ सालमा डिआइजीबाट राजीनामा दिएका थिए । आइजीपी सर्वेन्द्र खनाल भएपछि असंतुष्टि जनाउँदै उनले त्यसबेला राजीनामा दिएका थिए ।