७ असार २०८१, बिहीबार
Follow Us

संविधान संशोधनको प्रस्ताव आजै संसदमा दर्ता गर्ने

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७३, मंगलवार १३:५७

काठमाडौं । संविधान संशोधनको प्रस्ताव आज मंगलबार नै ब्यवस्थापिका संसदमा दर्ता हुने भएको छ । मन्त्रीपरिषद बैठकबाट पारित गरि आजै प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
यसका लागि अहिले प्रधानमन्त्री कार्यालय बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । मंगलबार नै प्रस्ताव दर्ता गराउनका लागि संसदको कार्यालयमा तयारी गरिएको छ । यसअघि माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावको खाका लगभग टुंगिसकेकाले जतिसक्दो छिटो संसदमा दर्ता गरिने जानकारी गराउनुभएको थियो ।
सरकारले प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई प्रदेशनम्बर ४ मा गाभ्ने, झापा, मोरङ्ग, सुनसरी, कैलाली र कञ्चनपुरको विवाद आयोग मार्फत समाधान गर्ने, अंगीकृत नागरिकता लिएका ब्यक्तीले राष्ट्रपति प्रधानमन्त्री, प्रदेशको मुख्य मन्त्री, सुरक्षा निकायको प्रमुखसहित १३ वटा मुख्य पद नपाउने, कामकाजको भाषाका रुपमा मातृभाषालाई मान्यता दिने नदिनेबारे भाषा आयोगको सिफारिस मान्ने लगायतका ब्यवस्थासहित संविधान संशोधनको प्रस्ताव तयार पारेको छ ।
प्रदेश नम्बर ४ र ५ को सिमांकन हेरफेरका विषयमा मुख्य विपक्षी दल नेकपा एमाले, तथा प्रदेश नम्बर ५ को पहाडी क्षेत्रका कांग्रेस र माओवादीकै सांसदहरुले पनि विरोध गरिरहेका छन् ।