३१ बैशाख २०८१, सोमबार
Follow Us

यी हुन् बेलायतमा विद्यार्थीहरुलाई सहयोग गर्ने समाजसेवी, उद्यमी तथा व्यवसायीहरु !

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७६, शनिबार २१:२४

पूर्ण गुरुंग ।

लण्डन। बेलायतस्थित नेपाली समाजसेवी, उद्यमी तथा व्यवसायीहरुले कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने विभिन्न सामाजिक संजालमार्फत जनाएका छन्। चीनको वुहानबाट शुरु भएको नोवल कोरोना भाइरसका कारण दस हजारभन्दा बढीको ज्यान गइ सकेको छ भने लाखौं संक्रमित भएका छन्।

नोवल कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलाइरहेको अवस्थामा पछिल्लो समय युरोप लगायत बेलायतमा समेत ठूलो संख्यामा संक्रमितहरु देखापरेका छन्। उक्त कोरोना भाइरसकै कारण दिनप्रतिदिन उद्योग, व्यापार, पसल, कलकारखानाहरु बन्द हुँदै गर्दा कैयौं मानिसहरु रोजगारबाट वञ्चित भएका छन्। रोजगारबाट वञ्चित भएका बेलायतमा रहेका त्यस्ता नेपाली विद्यार्थीहरुलाई सहयोगको आवश्यकता भए बस्न र खानाको निःशुल्क प्रवन्ध गर्ने समाजसेवी बिष्णु बञ्जाडे, ए स्टार फाईनान्सियल सर्भिसेसका रमेश सराङ्गकोटी, एनआरएनए युकेकी उपाध्यक्ष रोजिना प्रधान राई र एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्काले विभिन्न सामाजिक संजालमार्फत जनाएका छन्।

समाजसेवी बञ्जाडेले २ जना, ए स्टारका सराङ्गकोटीले २ जना, एनआरएनए युकेकी उपाध्यक्ष राईले ४ जना र अर्का उपाध्यक्ष खड्काले ६ जना विद्यार्थीहरूलाई निःशुल्क खाना र बस्नको व्यवस्था गर्ने जनाएका हुन्। अप्ठ्यारोमा रहेका त्यस्ता विद्यार्थीहरुले सामाजिक संजालमार्फत उनीहरुलाई सम्पर्क गर्न सक्ने छन्। यसैबीच एनआरएनए युकेका पूर्वउपाध्यक्ष एवम् समाजसेवी शेरबहादुर सुनारले वृद्धबृद्धा गोर्खाजहरुलाई निःशुल्क खाना वितरण शुरू गरेको जनाएका छन्। उनले सो अभियानमा सघाउने सबैलाई धन्यवाद पनि दिएका छन् ।
यसैगरी दक्षिण पूर्वी लन्डनस्थित व्यवसायी तथा समाजसेवी फत्त थापाले आफ्नो नयाँ घर केही समयका लागि नेपाली विद्यार्थी हरुकाली निशुल्क उपलब्ध गराउने जनाएका छन्। त्यस्तै शनिबार पत्रकार गणेश खड्काले संचालन गरेको फेसबुक लाइभमा बोल्दै रेस्टुरेन्ट व्यवसाय अनिता केसीले ६ जनासम्म विद्यार्थीहरुलाई निशुल्क डिनर खुवाउने वाचा गरेकी छिन् । सहयोग घोषणा गर्ने क्रम जारी छ, तर समन्वयको अभाव देखिएको छ ।

यस्तो विषम परिस्थितिमा अप्ठ्यारोमा परेका नेपाली विद्यार्थीहरुको सहयोगका लागि स्वतःस्फुर्तरुपमा आव्हान गरेका नेपाली उद्यमी तथा व्यवसायी एवं समाजसेवीहरूको सामाजिक संजालमा चारैतर्फ प्रसंशा गरिएको छ ।