३१ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएन यूके पदाधिकारीको विशेष बैठक : समस्यामा पर्नेहरुलाई सिधै सम्पर्क गर्न आव्हान

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७६, आईतवार २२:४५

फडिन्द्र भटराई । लन्डन । गैरआवासीय नेपाली संघ बेलायतका पदाधिकारीहरुको विशेष बैठकले कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्यामा संघका तर्फबाट प्रदान गर्ने सहयोगका सम्बन्धमा विभिन्न निर्णय गरेको छ ।

शनिबार कार्यसमितिको बैठक गरेको २४ घण्टा नहुँदै आईतवार २२ मार्चमा टेलिफोन कन्फरेन्समार्फत पदाधिकारी बैठक बसेको थियो । अध्यक्ष पुनम गुरुङको अध्यक्षता सम्पन्न बैठकले कोरोना महामारीको सम्बन्धमा २१ मार्चमा सम्पन्न पूर्ण कार्यसमितीको बैठकले गरेका निर्णयहरुमा केन्द्रित भएर घनिभूत छलफल गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।

विशेषत बेलायतको नेपाली समुदायमा कोरोनाको प्रभावले उत्पन्न परिस्थितीलाई सम्बोधन गर्न संघका उपाध्यक्षहरुको संयोजन रहने गरी छुट्टयाइएको कार्यक्षेत्रमा कसरी काम गर्ने भन्ने सम्बन्धमा ब्यापक छलफल भएको थियो ।

बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषदका स्वास्थ्य विभाग प्रमुख डा. संजिव सापकोटाले अतिथी प्रस्तोताको रुपमा कोरोनाले सृजना गरेको ग्लोबल समस्या र एनआरएन स्वास्थ्य विभागको तयारी सम्बन्धमा जानकारी गराएका थिए ।

एनआरएन यूके स्वास्थ्य विभाग संयोजक डा. सुनिल शाह र महिला संयोजक प्रसुना कंडेलले एनआरएन यूकेको स्वास्थ्य विभागको तयारी र कार्ययोजना तथा स्वास्थ्य क्षेत्रले सामना गरेको चुनौतीको सम्बन्धमा अपडेट गरेका थिए ।

बैठकमा उपाध्यक्षहरु रोजिना प्रधान राई, प्रेम गाहा मगर, नारायण कंडेल, रामचन्द्र पोख्रेल र मोहन कार्कीले आआफ्नो विभागको कार्ययोजनाबारे जानकारी गराए ।
एनआरएन यूकेले स्थापना गरेको हेल्प लाईनबारे सचिव कृष्ण ढकालले अपडेट गराए ।

इंगल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठले एनआरएन यूकेले दिएको जिम्मेवारी वहन गर्दै आजै राज्य परिषद्को बैठक गरी कार्ययोजना बनाएको बताए ।

झन्डै ३ घण्टा चलेको बैठकमा वर्तमान स्थितीको समिक्षा गर्दै भविष्यको योजनामा केन्द्रित हुनको लागी तयारी रहनु पर्ने निष्कर्ष सहित सहभागी पदाधिकारीहरुबीच ब्यापक छलफल भएको थियो ।

बैठकले निम्न निर्णयहरु गरेको छ ।
१. सम्भावित कोरोना संक्रमणको कारण हिजो लन्डनमा मृत्यु भएका लीला बहादुर राई प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै यो बैठक मृतकको परिवारमा हार्दिक समवेदना व्यक्त गर्ने ।

२.बेलायतमा नेपाली बिद्यार्थीहरुलाई परेको कठिन परिस्थितीका रिपोर्टहरु माथी तथ्यगत अध्ययन तथा विश्लेषण गर्दै उनीहरुलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे ब्यापक छलफल भयो । साच्चिकै समस्यामा परेका बिद्यार्थीहरुलाई सिधै एन आर एन यूकेमा सम्पर्क गर्न आवहान गर्ने । साथै एनआरएन यूकेले बिद्यार्थीहरुको तथ्यांक संकलन गर्दै विभिन्न माध्यमबाट उनीहरुको सम्पर्कमा पुग्न पहल गर्ने र सहयोग आवश्यकताको पहिचान गर्ने ।

३. बेलायतको नेपाली समुदायका भूपू गोर्खा पेन्सनर तथा वृद्द वृद्दाको आवश्यक सहयोगको लागी भूतपूर्व गोर्खा संगठन लगायतका संस्थाहरु संग समन्वय गर्दै सहयोगको प्रार्थमिक क्षेत्र पहिचान गर्ने र स्वास्थ्य तथा परामर्श लगायतको सहयोगको लागी परिचालित हुने ।

४. कोरोना संक्रमणको यो प्रारम्भिक चरण भएको विश्लेषण गर्दै यसको चरम उत्कर्ष र त्यसपछिका अवस्थाको लागी तयारी अवस्थामा रहनु पर्ने भएकोले कार्ययोजनाको तयारी गर्ने ।
५. बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मी हरुलाई समुदायको सेवामा पुर्याएको सेवाको सराहना गर्दै धन्यवाद ज्ञापन गरियो । साथै उनीहरुलाई उपयोगी हुने सुरक्षा किट लगायतका सामाग्री उपलब्ध गराउन प्रयत्न गर्ने ।
६ हाललाई हप्ताको दुई पटक एनआरएन यूके पदाधिकारीहरुको नियमित बैठक गर्दै तत्कालिन अवस्थाको अपडेट आम बेलायतवासी नेपालीहरुलाई गराउने ।

७ . नेपालमा फैलिन सक्ने सम्भावित कोरोना संक्रमणको रोकथामका हरेक उपाय अवलम्बन गर्न नेपाल सरकार तथा नेपाली जनतालाई आवहान गर्ने ।

एनआरएन यूके पदाधिकारीको अर्को बैठक आगामी बुधवार साझ ७ बजे बस्ने छ ।