७ बैशाख २०८१, शुक्रबार
Follow Us

आमा सम्झेर मस्कोमै धुरुधुरु रोइरहेको छु

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७६, मंगलवार ०६:३९

डा. बद्री केसी

लामो समय आईसीयूमा राखेपछि आमाको स्वास्थ्य अवस्थामा केही सुधार भयो । स्वास्थ्य अवस्था सामान्य भएपछि आमालाई जनरल वार्डमा सा-यौं त्यसपछि क्रमिक सुधार भयो ।

डिस्चार्ज हुने अघिल्लो दिन आमासँग बिदा भएर एक हप्ता आगाडी मात्र म मस्को फर्केको थिएँ । सम्भवतः त्यही भेट नै आमासँगको अन्तिम रह्यो । आमालाई डिस्चार्ज गरेर घरमा नै रेखदेखमा राखेका थियो । भाइ, भतिजा, भान्जी परिवारमा धेरै डाक्टर भएकाले आमाको रेखदेख तथा उपचारमा केही कमी हुदैन भन्नेमा म ढुक्क थिएँ ।

अघिल्लो दिन डाक्टर भतिजोसँग कुरा गरेर आमाको स्वास्थ्यका बारेमा जानकारी लिएँ, स्थिति सामान्य नै छ भनियो । ढुक्क भएँ । भोलिपल्ट चाँडै उठे, मन बेचैन थियो, घरमा कल गर्छु भनेर सम्झेको मात्र थिएँ । एक्कासि भतिजा, भान्जा र भन्जीले एकै पटक भाइबर र मेसेञ्जरमा कल गरे ।

उनीहरुले केही बोल्नुभन्दा अगाडि नै घर परिवारमा कोलाहालको आवाज सुने, उत्तर फर्काउनु अगाडि नै आमाको अन्तिम अवस्था भयो भन्ने मैले बुझिहाले । भिडियो अन गर भने, मैले आमालाई देख्दा घर अगाडिको तुलसाको मोठ्मा आमा सुतिसकेकी थिइन । मनलाई थाम्न सकिनँ, आमाको अगाडी पलेटी कसेर भाइ बसिरहेको थियो । आमाको अनुहार पहेलो कपडाले ढाकिसकेको थियो । अनुहार देखाऊ भने, भाइले कपडा उघारेर आमाको मुहार देखाइ दियो, त्यही नै मेरो आमासँगको अन्तिम दर्शन रह्यो ।

कोरोनको कारणले संसारनै ठप्प छ, म नेपाल जान सम्भव भएन । म बिनानै आमाको अन्तिम संस्कार गरियो । आमाको अन्तिम संस्कार भिडियोमार्फत हेरे, मैले आफुलाई संसारकै सबैभन्दा दुखी र निरह महसुस गरे । हे भगवान ! यस्तो परिस्थिति संसारमै कसैलाई नआओस !

आमा गुमाउनुको आफ्नो पीडा आफ्नो ठाउँमा छ, त्यसमाथि पनि अन्तिम संस्कारमा सम्मिलित हुन सकिनँ । आमालाई अन्तिम श्रद्धाञ्जलि दिन पाइनँ । एक थुंगा फुल पनि अर्पण गर्न सकिनँ र साथमा काजक्रियामा पनि सम्मिलित हुन नसकेर तड्पी रहेको छु । धुरु धुरु भित्रैदेखि रोहिरहेको छु ।

मेरो यस दुखद् घडीमा विभिन्न सामाजिक संजाल, मेल, मेसेन्जर, भाइबर तथा कल गरेर समबेदना ब्यक्त गर्नु हुने, सान्त्वना दिनु हुने, सम्झाउनु हुने सम्पूर्ण मान्यजन, आफन्त, इस्टमित्र, साथीभाइ, गैरआवासीय नेपाली संघका अध्यक्षलगायत सम्पूर्ण साथीहरु, रसियाबासी साथीहरु, बिदेशी साथीहरु र सहपाठी साथीहरुलाई हार्दिक नमन तथा धन्यबाद दिन चाहन्छु ।

तपाईहरुको सद्भावना र सान्त्वनाले मेरो पीडा अवश्यनै कम हुनेछ र धैर्यधारण गर्ने शक्ति मिल्नेछ । सबैलाई उत्तर फर्काउन सकेको छैन, मेरो बाध्यतालाई बुझ्नु हुन्छ भन्ने ठानेको छु ।

केसी गैरआवासीय नेपाली संघका उपाध्यक्ष हुन् ।