१६ बैशाख २०८१, आईतवार
Follow Us

सबैभन्दा कम आर्थिक वृद्धि वाग्मती प्रदेशको

sarusaru
३० बैशाख २०७७, मंगलवार ०६:३०

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमणसँगै आर्थिक गतविधि कम भएकाले चालु आर्थिक वर्षमा सबै प्रदेशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदर खुम्चने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको प्रदेशस्तरीय आर्थिक वृद्धिको प्रक्षेपणअनुसार सबैभन्दा कम वृद्धि वाग्मती प्रदेशको हुने भएको हो । ‘सुदूरपश्चिमको आर्थिक वृद्धिदर सबैभन्दा बढी ४.०८ प्रतिशत र वाग्मती प्रदेशको वृद्धिदर सबैभन्दा कम १.२३ प्रतिशत रहने अनुमान गरिएको छ,’ विभागद्वारा जारी प्रतिवेदनमा भनिएको छ ।

प्रदेश एकको ३.४१ प्रतिशत, दुईको २.२८ प्रतिशत, गण्डकीको २.६८ प्रतिशत, प्रदेश पाँचको २ प्रतिशत र कर्णालनी प्रदेशको ३.५६ प्रतिशतले आर्थिक वृद्धि हुने विभागको प्रक्षेपण छ ।

‘राष्ट्रिय कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँ अनुमान गरिएकोमध्ये सबैभन्दा बढी हिस्सा ३५.८४ प्रतिशत योगदान वाग्मती प्रदेशको हुने छ,’ प्रतिवेदनमा भनिएको छ । वाग्मतीको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा १३ खर्ब ५० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

मुलुकको कुल ग्राहस्थ उत्पादनमा प्रदेश एकको १५.८२ प्रतिशत, दुईको १३.७८ प्रतिशत, गण्डकीको ८.९० प्रतिशत, प्रदेश पाँचको १४.१८ प्रतिशत, कर्णालीको ४.२७ प्रतिशत र सुदूरपश्चिमको ७.२१ प्रतिशत हिस्सा हुने अनुमान विभागले गरेको छ ।

कान्तिपुर