१६ बैशाख २०८१, आईतवार
Follow Us

कालापानी क्षेत्रभन्दा १२ किलोमिटरमा प्रहरी चौकी

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७७, बिहीबार ०५:१५

कालापानी क्षेत्र अतिक्रमण गरेर सडक खनेको भनेर नेपालभर भारतको चर्को आलोचना भइरहेको वेला सरकारले दार्चुलाको व्यास नगरपालिकास्थित छाङरुमा सीमा पोस्ट स्थापना गरेको छ । छाङरु कालापानीको अतिक्रमित भूमिबाट १२ किलोमिटर तल पर्छ । त्योभन्दा माथि नेपाली भूमि कालापानी, नावी र नावीढाङमा भारतीय फौजका आठ क्याम्प छन् ।

स्थानीय जितसिंह बोहराका घर भाडामा लिएर अहिले बिओपी राखिएको छ । बुधबार बिओपी स्थापना भएपछि छाङरुमा सशस्त्रका इन्स्पेक्टर लिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको जनशक्ति खटिनेछ । तर, बुधबार भने त्यहाँ आठजनालाई मात्रै पुर्‍याइएको छ । बाँकी सिपाही बन्दोबस्तीका सामानसहित बिहीबार छाङरु उतारिने सशस्त्रको ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर विष्टले बताए ।

कालापानी क्षेत्रको नेपाली भूभागमा ५८ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले सो क्षेत्रका तीन स्थानमा आठ क्याम्प खडा गरेको छ ।

नेपाली भूमि अतिक्रमण गर्दै आएको भारतीय फौजले छाङरुभन्दा माथि जान नेपालीलाई निषेध गर्दै आएको छ । त्यसैले नेपालीहरू त्यो क्षेत्र जाने अन्तिम यही हो । सशस्त्रको बिओपी पहिलोपटक स्थापना भए पनि यो छाङरुको सीतापुलमा र त्योभन्दा १२ किलोमिटर पूर्व (चीन)तर्फ टिंकरस्थित छियालेकमा नेपाल प्रहरीको चौकी छ । तर, हिउँदमा चिसो बढ्दै गएपछि माथिको प्रहरी चौकीका जनशक्ति तल झर्दछ ।

चिसो बढ्न थालेपछि छियालेकका प्रहरी सीतापुल आउँछन् । चिसो अझै बढेपछि दुवै चौकीका प्रहरी ४३ किलोमिटर तल राप्लाको दुम्लिङ झर्छन् । दुम्लिङमा प्रहरी नायब निरीक्षक (सइ)को कमान्डमा प्रहरी चौकी छ ।