१६ बैशाख २०८१, आईतवार
Follow Us

हत्याको आरोपमा श्रीमान् र ससुरा पक्राउ

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७७, आईतवार ००:४६

जाजरकोटको बारेकोट गाउँपालिका–६ ताँसीकी जेनिसा नेपालीको हत्या गरेको आरोपमा उनका श्रीमान् र ससुरा पक्राउ परेका छन् ।

गत २९ वैशाखमा शंकास्पद मृत्यु भएकी जेनिसाको माइती पक्षले हत्या गरिएको भन्दै उनका श्रीमान्, ससुरासहित घरपरिवारका पाँचजनाको नाममा शुक्रबार किटानी जाहेरी गरेको थियो । घटनाबारे अनुसन्धानका लागि भन्दै प्रहरीले मृतकका श्रीमान् २४ वर्षीय अविनाश विक र ६० वर्षीय ससुरा दलवीर कामीलाई आज पक्राउ गरेको हो । सासू, आमाजू र नन्द भने पक्राउ परेका छैनन् ।

जेनिसाका माइती पक्षले बुधबारै जाहेरी दिन लागेको भए पनि प्रहरीले शुक्रबार मात्र जाहेरी दर्ता गराएर अनुसन्धान अघि बढाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको र दुईजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

एक्कासि पेट दुखेर मृत्यु भएको भनिए पनि जेनिसाको शरीरमा नीलडाम भएको, मुख र नाकबाट रगत बगेको तथा कन्चटमा पनि नीलो दाग पाइएको मृतकका दाइ प्रवीण नेपालीले बताए । कुसे गाउँपालिका–६ नारेकी जेनिसाको ०७२ मंसिरमा अविनाशसँग विवाह भएको थियो ।