१६ बैशाख २०८१, आईतवार
Follow Us

कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट नेगेटिभ

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७७, सोमबार ०४:५१

काभ्रे — कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।

सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा रहेका उनीहरु ४८ घण्टादेखि तनावमा थिए । रिपोर्ट ढिला हुँदा कुनै उपचारसमेत सुरु नगरिएको मृतकको बहिनीले टेलिफोनमा जानकारी दिइन् । शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ ।
नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको जिल्ला कमाण्ड पोस्टका सदस्यसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए ।

श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाह्रबिसे–९ निवासी ती सुत्केरीको मृत्यु भएको थियो ।