२० बैशाख २०८१, बिहीबार
Follow Us

संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७७, बुधबार १०:४३

काठमाडौं । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम कार्यसूचीबाट हटेको छ । आज संबिधान संशोधन विधयेक पेश गर्ने कार्यक्रम भएपनि दलीय सहमति जुटन बाँकी रहेकाले कार्यसुचि संसोधन गरिएको हो ।

यसअघि आजको बैठकमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने उल्लेख थियो । प्रधानमन्त्री केपी ओलीले आव्हान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीबाट निर्णय गर्न भन्दै समय माग गरेको थियो ।

संशोधन विधेयक पेश हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल गरिरहेको छ । सर्वसम्मत गराउनका लागि केही दिनपछि सो प्रस्ताव अघि बढाउने तयारी सरकारले गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार गत शुक्रबार संविधान संशोधन विधेयक सरकारले संसद सचिवालयमा दर्ता गराएको थियो ।

सरकारले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेर प्रचलनमा ल्याएको छ । यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्न संविधान संशोधन हुन लागेको हो ।