२१ बैशाख २०८१, शुक्रबार
Follow Us

जसपामा ठाकुर र भट्टराई शक्तिशाली

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०७७, मंगलवार ०२:४६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्व टुंगो लागे पनि असन्तुष्टि भने चर्काे रूपमा बढेको छ । मर्यादाक्रम नमिलेको, आफू कमिटीमा नपरेको र आफू निकटका नेतालाई मात्रै काखी च्यापेको भन्दै जसपाभित्र असन्तुष्टि बढेको हो ।

५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै जसपाले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजात बुझाएपछि असन्तुष्टिहरू बाहिर आउन थालेको हो । विगतमा विभिन्न पार्टीको नेतृत्व गर्दै जसपा बनाएका नेताहरूमा सबैभन्दा बलियो महन्थ ठाकुर र डा. बाबुराम भट्टराई देखिएका छन् ।

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता डा. भट्टराई निकट ८÷८ जना नेताहरू केन्द्रीय समितिमा परेका छन् । वरिष्ठ नेता राजेन्द्र महतो निकटका ७ र अर्का अध्यक्ष उपेन्द्र यादव निकटका ५ जना नेता मात्र केन्द्रीय समितिमा परेका छन् ।

वरिष्ठ नेता अशोक राई निकटका ६, महेन्द्रराय यादव निकटका ३, शरतसिंह भण्डारी निकटका २, युवराज कार्की निकटका १ जना नेता मात्रै केन्द्रीय कमिटीमा परेका छन् । राजकिशोर यादव, अनिल झा, प्रकाश अधिकार निकटका नेता कोही पनि केन्द्रीय कमिटीमा परेका छैनन् ।

ठाकुर निकटका सर्वेन्द्रनाथ शुक्ला, वृखेशचन्द्र लाल, गोविन्द्र चौधरी, जितेन्द्र सोनार, डा. विजयकुमार सिंह, उमाकान्त चौधरी, चन्दा चौधरी र एकबाल अहमद शाह रहेका छन् ।

महतो निकटका लक्ष्मणलाल कर्ण, मृगेन्द्रकुमार सिंह, नवलकिशोर साह, मनीषकुमार सुमन, राजकुमार लेखी, अमृता अग्रहरी र रेशमलाल चौधरी रहेका छन् । यादव निकटका रेणु यादव, लालबाबु राउत, रामसहाय यादव, विजय यादव र इस्तियाक राई रहेका छन् । तर, पछिल्लो समय रेणुलगायतका नेता उपेन्द्रसँग असन्तुष्ट छन् ।

डा. भट्टराई निकटका नवराज सुवेदी, पशुराम खापुङ्ग, हिसिला यमी, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, दुर्गा सोब, प्रशासन्त सिंह र भक्तबहादुर शाह रहेका छन् । यस्तै, राई निकटका राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, हेमराज राई, रणध्वज कन्दङ्वा, दानबहादुर विश्वकर्मा र सुशीला श्रेष्ठ रहेका छन् ।

यस्तै, कार्की निकटका पर्शुराम बस्नेत, भण्डारी निकटका निर्जला राउत, केशव झा र महेन्द्रराय निकटका रामनरेशराय यादव, रमेशप्रसाद यादव र रामकुमार ओझा रहेका छन् ।

विगतमा ठाकुर तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्ष र महतो सद्भावना पार्टीको अध्यक्ष रहेका थिए । भण्डारी राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र तराई मधेस सद्भावना पार्टी, राजकिशोर मधेसी जनअधिकार फोरम गणतान्त्रिक, अनिल नेपाल सद्भावना पार्टीको अध्यक्ष थिए । यी ६ वटै दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बनेको थियो ।

यस्तै, उपेन्द्र विगतमा मधेसी जनअधिकार फोरमको अध्यक्ष थिए । डा. भट्टराई नयाँ शक्ति पार्टीको अध्यक्ष थिए भने राई संघीय समाजवादीको अध्यक्ष थिए । सुरुमा यादव र राईले पार्टी एकीकरण गरेका थिए भने त्यसपछि भट्टराईले समेत पार्टी एकीकरण गरी समाजवादी पार्टी बनाएका थिए ।

त्यसअघि कार्की नेतृत्वको खस आर्य पार्टी र अधिकारी नेतृत्वको नेकपा संयुक्तसँग यादवले पार्टी एकीकरण गरेका थिए । बिभिन्न पार्टीबीच एकीकरण हुँदै अहिले जसपाको घोषणा भएको छ ।

यसअघि समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री भट्टराई, राजपाका अध्यक्ष मण्डलका सदस्य महतो र समाजवादी पार्टीका राईलाई जसपामा वरिष्ठ नेताको पद दिइएको छ ।

पहिलो वरीयता क्रम खोजेका भट्टराईले आयोगमा दर्ता गर्ने बेलामा चौथो मर्यादाक्रममा पुगेका थिए । शीर्ष नेताका बीचमा छलफल भए पनि सहमति जुट्न नसक्दा भट्टराईलाई चौथो मर्यादाक्रममा राखिएको हो । उनलाई संघीय परिषद्को अध्यक्ष र महतोलाई संसदीय दलको नेता बनाउने आन्तरिक सहमति भएको जसपा एक नेताले बताए ।

तत्कालीन राजपाका केन्द्रीय सदस्य सुरेन्द्रकुमार झाले अन्तिम दिनको अन्तिम समयमा पार्टी दर्ता हुनुपछाडि नेतृत्वमा रहेको आत्मकेन्द्रित सोच एवं पद लोलुप्ता रहेको टिप्पणी गरेका छन् ।

‘पार्टी नेताहरूले ५१ जनाको कार्यसमिति बनाई निर्वाचन आयोगमा बुझाइएको सूचीलाई नै मधेुस आन्दोलन, लोकतान्त्रिक आन्दोलन तथा जनयुद्धको आधिकारिक उत्तराधिकारीका रूपमा व्याख्या गर्ने भूल नगरून् । किनभने दुवै पार्टीका करिब दुई दर्जन ख्यातिप्राप्त राष्ट्रियस्तरका नेताहरू तथा १ हजार केन्द्रीय सदस्य यसमा समाविष्ट छैनन्,’ झाले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि व्यक्त गर्दै झाले लेखेका छन्, ‘राजपा पार्टीभित्र पुराना पार्टीका कोटा पद्धतिबाट छनोटमा परेकाहरू छन् । मण्डले, झोले, खबरीलाल, नातेदार, मालदार, भ्रष्टाचारी एवं कमिसनखोरहरू उल्लेख्य संख्यामा छन् ।’

जातीय ‘माइजन’ र नेतामा भिन्नता हुन्छ भन्ने कुराको बोध मधेस केन्द्रित नेतृत्वमा नदेखिएको उनको भनाइ छ । ‘पहिलो सूचीमा नाम प¥यो भनेर नमात्तिन मित्रहरूलाई अनुरोध छ,’ उनले लेखेका छन्, ‘छनोटे र चुनौटेमा भिन्नता हुन्छ । महाधिवेशनमा प्रतिस्पर्धा गरेर आउँदा चित्त बुझाउने ठाउँ रहन्छ । तर, छनौटमै मखलेल हुनेहरूबाट संगठन निर्माण र संघर्ष हुनेमा शंका देखिन्छ ।’

तत्कालीन राजपाका सहमहासचिव रामप्रवेश बैठाले पनि पार्टी एकीकरण र पद समायोजनप्रति असन्तुष्टि पोखेका छन् । एकीकृत पार्टीमा दलित समुदायलाई ठाउँ नदिइएको भन्दै बैठाले असन्तुष्टि पोखेका हुन् ।

‘देशको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनिएको मधेस आधारित पार्टीमा मधेसी दलित समुदाय नअटाउनु दुर्भाग्यपूर्ण छ,’ सामाजिक सञ्जाल फेसबुकमा बैठाले लेखेका छन् ।

‘पार्टीभित्र दलित समुदायको ठाउँ कहाँ छ त ?’ बैठाले प्रश्न गरेका छन् ।
‘राजपा नेपालका तर्फबाट एकजना पनि दलित समुदायबाट नआउनु विडम्बना छ । प्रदेशसभादेखि प्रदेश सरकार तथा पार्टी पोर्टफोलियोमा पनि दलित समुदाय नेतृत्व पंक्तिमा नअटाउनु खेदजनक हो,’ उनले भनेका छन् ।
सुवास साह/ राजधानी दैनिकबाट