१६ बैशाख २०८१, आईतवार
Follow Us

पर्वत पहिरो अपडेट : ५ जनाको शव भेटियो, बेपत्ताको खोजी जारी

sarusaru
३२ जेष्ठ २०७७, आईतवार ०५:४९

पर्वत — शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ । ३ जनाको शनिबार राति र २ जनाको आइतबार बिहान शव भेटिएको हो ।

कुश्मा–३ दुर्लुङमा शनिबार राति गएको पहिरो । तस्बिर सौजन्य : होमबहादुर थापा मगर

घटनास्थलमा उद्धारका लागि पुगेका सुरक्षाकर्मीहरुको टोलीले ३ जनाको शव पुरिएको अवस्थाबाट निकालेको हो । दुई जना पुरिएकै अवस्थामा मृत फेला परेको भए पनि उनीहरुलाई बाहिर निकाल्न समस्या भएको छ ।

मृतकहरुमा तुलबहादुर थापा, उनकी श्रीमती निमकुमारी थापा र नातिनी बिविसा थापाको शनिबार राती नै शव फेला परेको थियो । तुलबहादुरका नातिनातिनाहरु विवेक, कृपा र सुनिल थापा अझै बेपत्ता छैन ।

त्यस्तै आइतबार बिहान उद्धारकर्मीले पहिरोमा पुरिएका अरु २ जनाको शव फेला पारेको छ । उनीहरुको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । उनीहरुलाई निकाल्न समस्या भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । परिवारका सबैजना सुतिरहेको अवस्थामा खसेको पहिरोले सबै पुरिएका हुन् ।

पहिरोमा बेपत्ता अन्य चार जनाको खोजीकार्य आइतबार बिहानैदेखि जारी छ । राति अबेरसम्म वर्षा नरोकिएपछि सदरमुकामबाट उद्धारमा गएको सुरक्षाकर्मीहरुको टोली राति २ बजे फर्किएको थियो । बिहान ६ बजेदेखि एक्स्काभेटरको समेत सहायतामा उद्धार कार्य जारी रहेको स्थानीय होमबहादुर थापा मगरले बताए । उनका अनुसार स्थानीय र सुरक्षाकर्मीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् । करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षपछि दुर्लुङस्थित काफलचौर माध्यमिक विद्यालय नजिकैको बस्तीमा पहिरो खसेको हो । रातभर वर्षा नरोकिएपछि उद्धार कार्यमा समस्या भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

घटनास्थल पुगेका वडाध्यक्ष तेजप्रसाद पाध्यायका अनुसार स्थानीय भुवन गिरीको घर पनि पहिरोले पुरेको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित स्थानीयबासी समेत उद्धारमा संलग्न छन् ।

कान्तिपुर