२७ बैशाख २०८१, बिहीबार
Follow Us

दुई सय कन्टेनर चीनको केरुङमा अलपत्र

नेपालब्रिटेन संवाददाता
१ असार २०७७, सोमबार ०३:२३

रसुवा । नेपाल चीन ब्यापारको छोटो मार्ग रसुवागढी– केरुङ नाका करिब पाच महिना यतादेखि बन्द रहेको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द रहदा त्यहाबाट विभिन्न सामान ल्याउन सन्चालन भएका नेपाली व्यवसायीका दुई सय कन्टेनर चीनको केरुङमा अलपत्र परेका छन् ।

रसुवागढी केरुङ मार्गको विभिन्न स्थानमा हिउँ तथा पहिरोले सडक पुरिँदा १५ माघदेखि बन्द रहेको नाका त्यसलगत्तै फैलिएको कोरोना महामारीका कारण निरन्तर ठप्प छ । माघ १५ गते अघि नै सामान लिन केरुङ पुगेका नेपाली कन्टेनर उतै थन्किएका छन् । नाका बन्दसँगै ढुवानी रोकिएर घाटा व्यहोरोका व्यवसायीका कन्टेनरका पार्टपुर्जा खिया लागेर बिग्रिन थालेका छन् । यसले अर्बौँको क्षति पुगेको व्यवसायीहरू बताउँछन् । ती कन्टेनर नेपाल ल्याउन सरकारले कुनै पहल नगरेकोमा उनीहरूको गुनासो छ ।

केरुङमा स्वास्थ सामग्री, हाइड्रोका सामान, लत्ताकपडा तथा कच्चा पदार्थका करिब १५ सय कन्टेनर सामान गोदाममै स्टोर रहेको व्यवसायीहरू बताउँछन् । एक महिनाअघि मात्रै १२ वटा कन्टेनरमा लोड गरिएको फलफूल कुहिएपछि फालिएको छ ।

रसुवागढी नाका सञ्चालन हुँदा चीनबाट फलफूल तथा लत्ताकपडा लगायत बन्दोबस्तीका सामान आउने गरेका थिए । दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द भएपछि राज्यलाई त घाटा भइरहेको छ । ब्यापारिक कारोबार र आवतजावत बन्द हुदा ट्रक कन्टेनहरमा काम गर्ने श्रमिकदेखि रसुवाका साना–ठूला सबै व्यवसायी प्रत्यक्ष मारमा परेका छन् ।

नाका बन्द हुँदा आर्थिक अवस्था धराशायी बनेको कन्टेनर व्यवसायी बताउँछ्न् । व्यवसायीहरूले बैंकबाट ऋण लिएर कन्टेनर किनेका हुन । नाका बन्द रहदा किस्ता तिर्न उनिहरुले सकिरहेका छैनन् । नाका खुलेपछि चीन जाने भनेर ३० कन्टेनर रसुवागढीमा लाइनमा छन् । अहिले नाकामा दुवै देशतर्फ गेट लगाइएको छ । प्रशासनको निर्देशन अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी नाकाको सुरक्षामा खटिएका छन् ।