२७ बैशाख २०८१, बिहीबार
Follow Us

लकडाउन खुकुलो मात्र भएको हो : प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
१ असार २०७७, सोमबार ०६:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु पर्ने बताएका छन् । सोमबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको पनि बताए ।

शुभकामना सम्बोधन गर्दै ओलीले अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको स्पष्ट पारेका हुन । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीका कारण शैक्षिक सत्रमा नै असर नपरोस् भनेर आजदेखि वैकल्पिक सिकाइ प्रविधिको घोषणा गरिएको बताए ।

तर कोभिड–१९ ले एसइई परीक्षाबारे भने सधैँका लागि विकल्प सोच्नु पर्ने अवस्था ल्याएको पनि बताए । उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै पछिल्लो समय भइरहेका विरोध प्रदर्शनतर्फ लक्षित गर्दै सम्झाउने प्रयास गरे ।

उनले भने, ‘मैंले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आमसञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ? तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन ।’

प्रधानमन्त्री ओलीले सोमबार वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा नेपाल टेलिभिजनबाट शुभकामना सम्बोधन गरेका हुन ।