१५ बैशाख २०८१, शनिबार
Follow Us

गर्लफ्रेण्ड कसकाे राम्रो भन्ने विवादमा साथीको हत्या

sarusaru
२ असार २०७७, मंगलवार ०६:५५

काठमाडौं। मोटरबाइक र प्रेमीकाको विषयमा साथीहरुबीच आपसमा झगडा गर्दा पोखरामा एक युवकले ज्यान गुमाएका छन्। नयाँ मोटरसाइकल किनेर साथीहरुमाझ खुशीयाली मनाइरहेका अमित रसाइलीको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार अमितले नयाँ मोटरसाइकल किनेपछि अरु तीन जना साथीहरुलाई बोलाएर बाघमारा चौरमा पार्टी दिएका थिए।

त्यही क्रममा उनीहरुबीच मोटरबाईक र गर्लफ्रेण्ड विषयमा कुराकानी शुरु गरेपछि सबै जनाले आफ्नी गर्लफ्रेण्डको बयान गर्दा गदै झगडा शुरु भएको अन्य साथीहरुले अमितलाई हेल्मेटले हानेर बेहोस बनाएका थिए। अमित बेहोस भएपछि उनीहरुले थप ढुंगाले टाउकोमा हानेर हत्या गरी सेती खोंचमा फ्याकेका थिए।

एसपी कार्कीका अनुसार पोखरा ३२ का २१ वर्षे अमित रसाइलीलाई उनकै साथीहरुले गर्लफ्रेण्डको विषयमा झगडा गरेर हत्या गरी फ्याकेका हुन् । प्रहरीले रसाइलीको शव आइतबार बिहान सेती खोंचमा फेला पारेको थियो।

‘उनीहरु शनिबार राति रमाइलो गर्न बाघमाराको चौरमा गएका रहेछन् त्यही गर्लफ्रेण्डको विषयमा झगडा हुँदा साथीहरुले नै हत्या गरेको देखिन्छ’, एसपी कार्कीले भने। शनिबार रातको करिब ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथीहरुलाई पार्टी दिन भनेर घरबाट हिँडेका उनी बेपत्ता भएका थिए।

रसाइली हराएको भनी उनीसँगै पार्टी खाएका साथीहरुले नै आइतबार बिहान साढे तीन बजे खबर गरेपछि जिल्ला प्रहरी कार्यलय कास्कीले खोजेको थियो। ‘जसले हत्या गर्यो उनीहरुले साथी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए’, एसपी कार्कीले भने, ‘रसाइलीसँगै गएका ४ जना साथीहरुसँग सोधपुछ गर्ने क्रममा उनकै साथीहरुले हत्या गरी सेती नदीमा फालेको खुल्यो।’

प्रहरीका अनुसार मोटरसाइकल किनेको खुशीयालीमा पोखरा ३३ बाघमाराको चौरमा जम्मा भएर लोकल रक्सी, चाउचाउ र चुरोट खाँदै गफ गर्दा उनीहरुबीच बाइक र गर्लफ्रेण्ड कसको राम्रो भन्ने चर्चा गर्दा विवाद शुरु भएको थियो।

झगडा सुरु भएपछि साथीहरुले अमितलाई हेल्मेट र ढुंगाले टाउकामै हिर्काएर हत्या गरेको थिए। प्रहरीले अमितको हत्या गरेको आरोपमा २० वर्षे मनीष श्रेष्ठ, २१ वर्षे सुनम गुरुङ, २१ वर्षका शंकर सुनार र कृष्ण सुनारलाई पक्राउ गरेको छ।

डिसी नेपाल